काठमाडौं । आसन्न प्रतिनिधिसभाको निर्वाचन हुन अब केबल नौ दिन मात्र बाँकी छ । निर्वाचन आयोग नेपालले २०८२।१०।२७ गते प्रेस विज्ञप्तिमार्फत निर्वाचन आचारसंहिता २०८२ को दफा ३७ बमोजिम २०८२ साल फागुन ३ गतेभित्र निर्वाचन घोषणापत्र सार्वजनिक गरी राजनीतिक दलले निर्वाचन आयोगमा र उम्मेदवारहरूले सम्बन्धित निर्वाचन कार्यालयमा पेस गर्न राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ५७ बमोजिम निर्देशन दिइसकेको भए पनि राजनीतिक दलहरूले त्रमशः नेपाली कम्युनिस्ट पार्टीले २०८२ माघ २७ मा सार्वजनिक गरेको प्रतिबद्धता पत्र, नेकपा एमालेले २०८२ फागुन ७ गते सार्वजनिक गरेको घोषणापत्र, नेपाली कांगे्रसले मिति २०८२ फागुन ७ गते घोषणा गरेको प्रतिज्ञापत्र, त्यसैगरी रास्वपाले सार्वजनिक गरेको वाचा पत्र, जसपाको घोषण पत्रलगायत दलहरूको घोषणापत्र अध्ययन गर्दा के प्रस्ट हुन्छ भने उक्त घोषणापत्र हरू संविधान र कानुनसम्मत नरहेको र निर्वाचन आयोगको निर्देशनलाई लत्याइएको देखिन्छ, बुझिन्छ ।
के यी सार्वजनिक भएका विविध पत्रहरू कानुनसम्मत र निर्देशनबमोजिम भएका छन् त ? कसले गर्छ नियमन, के यसको विषयमा निर्वाचन आयोग बोल्नुपर्ने होइन ? यी प्रश्नको जवाफ आम मतदाता खोजिरहेको छन् ।
भौगोलिक विविधता, विकटताको साथै पूर्वप्रधानमन्त्रीहरूको निर्वाचन क्षेत्रलगायत अधिकांश भू–भाग अझै पनि यातायात र सञ्चारको सुविधा पुगेको छैन । यस्तो भौगोलिक अवस्था रहेको हाम्रो मुलुकमा संसदीय चुनाव अर्थात् संघीय प्रतिनिधिसभाको चुनाव भइरहेको छ । त्यसमा दलीय पद्धति दलले आफ्नो उम्मेदवार उठाउने, आफ्नो दलको उम्मेदवार जिते संघीय सरकार गठन गर्न र कार्यपालिकाको नेतृत्व लिन, सम्हाल्न आफ्नो दलले पाएको चुनाव जितेमा विकास नीति, आर्थिक नीति, वैदेशिक नीति, शैक्षिक नीति, रोजगार उद्योग, पर्यटन निति आदि विकास विस्तार यसरी गरिन्छ भनेर सबै दलले दलको तर्फबाट घोषणापत्र सार्वजनिक गर्ने र त्यही घोषणापत्र हातमा लिएर जनताको घरदैलोमा मत माग्न जाने, आम सभाहरूमा घोषणापत्र मा लेखिएका कुराहरूको आधारमा भाषण गर्ने, प्रस्तुत गर्ने गरिन्छ । यस पटक त्यसो नभएर हरेक दलले आफ्नो घोषणापत्र निर्वाचान आयोगको निर्देशनविपरीत १२/१५ दिनअघि मात्रै सार्वजनिक गरिनुबाट के देखियो भने दलहरूको घोषणापत्र भनेको केबल औपचारिकताका लागि मात्रजस्तो देखियो ।
अर्कोतर्फ १०/१२ दिनमा यस्तो भौगोलिक विकटता भएको ठाउँमा कसरी यो घोषणापत्र दलको उम्मेदवारको हातमा पुग्छ ? घोषणापत्रमा लेखिएका कुरा कसरी जनतालाई भन्छन् र बुझाउँछन् । मिति २०८२ फाल्गुण ३ गते निर्वाचन आयोगले राजनीतिक दलहरूलाई प्रेस विज्ञप्तिमार्फत निर्देशन गरी घोषण पत्र सार्वजनिक गरी सोको आधारमा प्रचारप्रसार गर्ने भने पनि उम्मेदवारहरूले व्यत्तिगतरूपमा जनतामाझ झुटा र लोकप्रिय आश्वासन बाँढेर चुनाव प्रचारप्रसार गरेका छन्, यी त केवल औपचारिकता मात्र पूरा गरेको जस्तो भयो ।
दलको घोषणापत्र भनेको दल दलका उम्मेदवारहरूले केवल जनतालाई ढाट्ने छल्ने जनता झुक्याउनका लागि लिखित पुलिन्दा मात्र भयो । यसमा अब दलहरूले घोषणापत्र जारी गर्दा मतदाताको मतदानको लागि कति दिन बाँकी छँदा अथवा कति समय अगावै दलले दलको तर्फबाट घोषणापत्र जारी गर्नुपर्ने सो कुराको व्यवस्था आगामी दिनमा आगामी वर्षहरूमा हुने निर्वाचनका लागि निर्वचन आयोगले नियम, निर्देशिका बनाई अनिवार्य पालना गर्नुपर्ने गरी समय सीमा तोक्न आवश्यक देखियो अर्को कुरा दलले दलको तर्फबाट जारी गर्ने घोषणापत्र र घोषणापत्रका सम्बन्धमा दलको तर्फबाट संघीय संसद पदको लागि निर्वाचन हुनु उम्मेदवारी दिने उम्मेदवारहरूलाई हरेक दलले आफ्नो दलको उम्मेदवारहरूलाई घोषणापत्र अध्ययन गराउनु र घोषणापत्र मा देखिएको कुराको आशय, मर्म, भावना, समग्र नीतिको बारेमा दलहरूले विज्ञ समूह बनाई उम्मेदवारहरूलाई न्यूनतम एक हप्ताको तालिम अनिवार्य गर्नुपर्ने व्यवस्था निर्वाचन आयोगले जारी गर्ने नियम निर्देशिका हुनु÷गरिनु पर्दछ ।
त्यसैगरी हरेक दलले आफ्नो आफ्नो दलको तर्फबाट जारी गर्ने घोषणापत्र कति सत्य छन्, कति सत्यतामा आधारित छन्, वस्तुस्थितिको वास्तविकता के हो ? मुलुक र समाज सुहाउँदो छ कि छैन । संविधान र कानुनको अनुकूलता छ कि छैन अर्थात् संविधानमा उल्लिखित राज्यका नीति, सिद्धान्त र मौलिक हकसँग तालमेल राख्छन् कि राख्दैनन् आदि कुराको निर्वाचन आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, योजना आयोग, वित्त आयोगजस्ता सरोकारवाला संवैधानिक आयोगहरूको समन्वयात्मक समिति निर्माण गरी हरेक दलको घोषणापत्रको अध्ययन अनुसन्धान गराउने झुटा, आधारहीन कपोकल्पित, जनतालाई भ्रममा पार्ने, झुक्याउने ढाँट्ने, खालका संविधान कानुनविपरीत हुने खालका, अनुचित धारणाहरू र समग्र राष्ट्रहितविपरीतका कुराहरूलाई हटाउन लगाउने, सच्याउन लगाउने, अटेर गरे कारबाही गर्नेसम्मको व्यवस्था वान्छनीय हुन्छ । अन्यथा दलको घोषणापत्रको महत्व पनि रहँदैन । यी केवल जनता ढाँट्ने, झुक्याउने पुलिन्दा मात्र ठहरिन जाने हुन्छ ।