काठमाडौं । राजासहितको हिन्दु राज्य पुनःस्थापनाको माग गर्दै राजावादी समूहहरूले आज राजधानीमा विरोध र्याली तथा कोणसभा आयोजना गरेका छन्।समाजसेवी तथा धार्मिक अभियन्ता धना आचार्यको नेतृत्वमा मंगलबार दिउँसो १ बजे माइतीघर मण्डलाबाट विशाल धार्मिक र्याली सुरु भएको आयोजकहरूले जनाएका छन्। पैदल तथा मोटरसाइकलसहितको र्याली भद्रकाली मन्दिर पुगेर कोणसभामा परिणत हुने कार्यक्रम रहेको छ।
आयोजकहरूमध्येका एक तथा अनवरत तत्पर फौज (एटिएफ) का संयोजक सन्तोष राजावादीका अनुसार र्याली राजासहितको हिन्दु राज्य पुनःस्थापना र आसन्न निर्वाचन बहिष्कारको मागसहित आयोजना गरिएको हो। यसअघि पनि फागुन ७ र १० गते आचार्यकै नेतृत्वमा काठमाडौंका विभिन्न स्थानमा धार्मिक र्याली तथा कोणसभा गरिएको थियो।
यसैबीच, पशुपति खड्का नेतृत्वको अर्को राजावादी समूहले पनि सामाखुशीबाट छुट्टै र्याली निकालेको बुझिएको छ। राजावादी समूहहरू विगत केही समयदेखि राजसंस्था पुनःस्थापनाको माग गर्दै विभिन्न कार्यक्रममार्फत आन्दोलनमा सक्रिय रहँदै आएका छन्। राजधानीमा एकैदिन विभिन्न स्थानबाट निकालिएका र्यालीका कारण केही स्थानमा यातायात आवागमन प्रभावित भएको प्रहरीले जनाएको छ।