काठमाडौं । भक्तपुर टुर्स रिसर्च सेन्टरको आयोजनामा ‘३३ पोखरी परिक्रमा’ कार्यक्रम आयोजना गरिने भएको छ । नयाँ वर्ष २०८३ को अवसरमा भक्तपुरमा बैशाख १ गते महेश्वरी मन्दिरबाट परिक्रमा सुरु हुने जनाइएको छ ।
भक्तपुरका ऐतिहासिक ३३ वटा पोखरी परम्परागत जल व्यवस्थापन प्रणाली, वातावरणीय सन्तुलन, भू–जल पुनर्भरण तथा सांस्कृतिक पहिचानका महत्वपूर्ण आधार मानिन्छन् । ती पोखरीहरूलाई समेटेर एकीकृत ‘हेरिटेज एन्ड ईको टुरिजम सर्किट’का रूपमा विकास गर्ने उद्देश्यसहित कार्यक्रम सञ्चालन गर्न लागिएको आयोजक संस्थाले जनाएको छ । कार्यक्रममार्फत ३३ पोखरीलाई पर्यावरणीय तथा सांस्कृतिक पर्यटन परिक्रमा मार्गका रूपमा प्रवर्द्धन गर्ने, जलस्रोत संरक्षण र जलवायु सचेतनालाई पर्यटनसँग जोड्ने, दिगो पर्यटन प्याकेज विकासको सम्भावना पहिचान गर्ने तथा आन्तरिक र अन्तर्राष्ट्रिय बजार लक्षित विषयगत टुर डिजाइनको आधार तयार गर्ने लक्ष्य राखिएको छ ।
संस्थाका अनुसार कार्यक्रममा पर्यटन व्यवसायी, अनुसन्धानकर्ता, स्थानीय समुदाय, वातावरणविद् तथा अन्य सरोकारवालाबीच अन्तरक्रिया गरिनेछ । यसले नयाँ सहकार्य, साझेदारी तथा दीर्घकालीन पर्यटन विकासका अवसरहरू सिर्जना गर्ने विश्वास लिइएको छ । गत वर्ष २०८२ वैशाख १ गते सम्पन्न कार्यक्रममा स्थानीय समुदायसँग अन्तरक्रिया, ऐतिहासिक अभिलेखीकरण तथा सम्भावित इको–टुर प्याकेज अवधारणा विकास गरिएको थियो । यस वर्षको कार्यक्रमलाई अझ प्रभावकारी र परिणाममुखी बनाउने तयारी गरिएको आयोजकले जनाएको छ । आयोजकले पर्यटन व्यवसायी तथा सरोकारवाला संस्थाहरूलाई सहकार्य र सहभागिताका लागि आह्वान गर्दै संयुक्त ब्रान्डिङ, नियमित टुर प्याकेजमा समावेश, फाम ट्रिप आयोजना तथा विशेष अवसरमा समूह भ्रमण व्यवस्थापनजस्ता क्षेत्रहरूमा सहकार्य गर्न प्रस्ताव गरेको छ ।