काठमाडौं । इनड्राइभले ‘काठमाडौं क्लिन एयर डायलोग’ आयोजना गरेको छ । काठमाडौं उपत्यकामा बढ्दो वायु प्रदूषणको समस्या समाधानका लागि समन्वित, दिगो र कार्यान्वयनयोग्य उपायहरू खोज्न विभिन्न सरोकारवालाहरूलाई एउटै मंचमा ल्याउन उक्त कार्यक्रम गरिएको जनाइएको छ ।
कार्यक्रममा सरकारी नेतृत्व, विषय विज्ञहरू, अनुसन्धान संस्था, नागरिक समाजका प्रतिनिधि तथा निजी क्षेत्रका अग्रणी व्यक्तिहरूको सक्रिय सहभागिता रहेको थियो । कम्पनीका अनुसार यस संवादको मुख्य उद्देश्य वायु प्रदूषणलाई साझा जिम्मेवारीको विषयका रूपमा स्वीकार गर्दै नीति–समन्वय, तथ्यमा आधारित निर्णय प्रक्रिया र ठोस कार्ययोजनातर्फ अगाडि बढ्नु हो । सहभागीहरूले हालको वायु गुणस्तर अवस्था, प्रदूषणका प्रमुख स्रोतहरू, विद्यमान नीति तथा कार्यक्रमहरूको प्रभावकारिता र कार्यान्वयनमा देखिएका चुनौतीहरूबारे गहन तथा परिणाममुखी छलफल गरेका थिए । कार्यक्रममा सरकारको सहभागिता उल्लेखनीय रूपमा उत्साहजनक थियो । वन तथा वातावरण मन्त्री माधव चौँलागाईले सरकारले हालसम्म गरेका प्रगतिहरूलाई उल्लेख गर्दै आगामी दिनमा अझ तीव्र, समन्वित र परिणाममुखी कार्यको आवश्यकता औँल्याए । कार्यक्रमले नीति, विज्ञान र निजी क्षेत्रबीचको सहकार्यलाई सुदृढ गर्दै दीर्घकालीन जनस्वास्थ्य तथा वातावरणीय लाभ सुनिश्चित गर्ने दिशामा स्पष्ट सन्देश दिएको कम्पनीको दाबी छ ।