काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले पुँजी बजारलाई थप सुदृढ, पारदर्शी र लगानीमैत्री बनाउन आवश्यक रहेको बताएका छन् ।
सीडीएस एन्ड क्लियरिङ लिमिटेडद्वारा आयोजित प्रस्तावित धितोपत्र अभौतिकीकरण कार्य सञ्चालन निर्देशिका, २०८२ सम्बन्धी मस्यौदामाथि छलफलमा उनले पुँजी बजार सुधारका लागि एकीकृत नीति आवश्यक रहेकोमा जोड दिए । अध्यक्ष अग्रवालले विगतमा लागू गरिएको दोहोरो आईएसआईएन (अन्तर्राष्ट्रिय धितोपत्र पहिचान नम्बर) प्रणालीका कारण एउटै कम्पनीका सेयरको फरक–फरक मूल्य कायम भई बजारमा सट्टेबाजी तथा मूल्य विकृति बढेको बताए । यसले लगानीकर्तामा भ्रम र अविश्वास सिर्जना गर्नुका साथै बजार सूचकांक र कारोबारमा नकारात्मक प्रभाव परेको उनको भनाइ थियो । अन्तर्राष्ट्रिय अभ्यासअनुसार ‘एउटै कम्पनी, एउटै आईएसआईएन’को नीति अवलम्बन गर्नुपर्ने उनको सुझाव छ ।
विकासोन्मुख देश नेपालका लागि पुँजी बजार आर्थिक विकासको महत्वपूर्ण आधार भएको उल्लेख गर्दै उनले यसले बचतलाई उत्पादनशील क्षेत्रमा परिचालन, उद्योग–व्यवसाय विस्तार, रोजगारी सिर्जना तथा विदेशी लगानी आकर्षणमा महत्वपूर्ण भूमिका खेल्ने बताए । प्रस्तावित निर्देशिका बजारलाई जटिल बनाउने नभई तरल, सुरक्षित र लगानीमैत्री बनाउने लक्ष्यका साथ परिमार्जन गर्नुपर्नेमा उनले जोड दिए । उनका अनुसार संस्थापक र सर्वसाधारण सेयरबीचको विभाजनले सेयरको तरलता घटाउने, बोनस, हकप्रद तथा लाभांश वितरणजस्ता संस्थागत कार्यहरूमा प्राविधिक जटिलता बढाउने र नियामक निकायको अनुगमनमा कठिनाइ सिर्जना गर्ने समस्या देखिएको छ । साथै दोहोरो आईएसआईएन व्यवस्थाले पूर्ण अभौतिक (डिम्याट) प्रणाली, टी+२ सेटलमेन्ट, बजार निर्माता व्यवस्था (मार्केट मेकिङ) तथा डिजिटल स्वचालनजस्ता आधुनिकीकरणका प्रयासमा अवरोध पु¥याउन सक्ने उनले बताए ।
आपूर्ति संरचना सुधारका लागि संस्थापक सेयरमा अत्यधिक लक–इन अवधि तथा कुलिङ अवधिका कारण बजारमा सेयर आपूर्ति सीमित भई सट्टेबाजी बढ्ने अवस्था रहेको भन्दै उनले क्रमिक रूपमा निश्चित सीमा (जस्तै २० प्रतिशतसम्म) सेयर खुला गर्ने व्यवस्था गर्नुपर्ने सुझाव दिए । यसले बजारमा आपूर्ति सन्तुलन कायम गरी मूल्य स्थिरता ल्याउन सहयोग पुग्ने उनको भनाइ थियो । साथै अध्यक्ष अग्रवालले अन्तर्राष्ट्रिय अभ्यासबमोजिम कम्पनीका सञ्चालकहरूले पनि विशेष परिस्थितिबाहेक आफ्नो तोकिएको सिलिङभन्दा माथिको सेयर बिक्री गर्न पाउनुपर्ने बताउँदै यसले सेयरको आपूर्ति बढाउने र अन्य क्षेत्रमा लगानी प्रोत्साहित हुने उल्लेख गरे । निर्देशिका कार्यान्वयनअघि सरोकारवालासँग व्यापक परामर्श गरी नियामकीय प्रभाव मूल्यांकन गर्नुपर्नेमा जोड दिँदै उनले निजी क्षेत्रसँगको समन्वयले नीति कार्यान्वयनलाई प्रभावकारी र व्यवहारिक बनाउने बताए ।
कार्यक्रममा सीडीएससीकी प्रबन्ध सञ्चालक प्रबिन पन्दाकले प्रस्तावित ‘आइजिन निर्देशिका’ का सम्बन्धमा जानकारी गराएकी थिइन् । कार्यक्रममा उनले सीडीएससीको सञ्चालक समितिले सर्वसम्मतिले पारित गरेर २०८२ साल साउन ११ गते नै स्वीकृतिका लागि धितोपत्र बोर्डमा पठाइसकेको भएपनि हालसम्म स्वीकृत नभएको जानकारी दिइन् । कार्यक्रममा उनले संस्थापक र सर्वसाधारण सेयरको मूल्यमा रहेको आकाश–पातालको अन्तरलाई केही समूहले अनुचित लाभको माध्यम बनाएको आरोप लगाएकी थिइन् । उनले भनिन्, ‘४१ करोडको संस्थापक सेयरलाई सर्वसाधारण सेयरमा ‘सुटुक्क’ मिसाउँदा ५ अर्ब ४४ करोडको मूल्यमा छिनभरमै परिणत हुँदो रहेछ । हामीले निर्देशिकामा कहिल्यै नमिसाउनु भनेका छैनौँ, मात्र विधिपूर्वक मिसाउनु, सुटुक्क नमिसाउनु भनेका हौँ ।’ सीडीएससीको प्रणालीमा गलत तथ्यांक प्रविष्टि गरेर वित्तीय अपराध गर्न खोज्नेलाई निर्देशिकाले कडाइ गरेको उनले बताइन् ।