सुबास बस्नेत
दोलखा, भदौ २८
दोलखाको गौरीशंकर गाउँपालिकाको चार वडा जोड्ने मुख्य सडक मार्बु–गुरुम्फी सडक पहिरोले भत्किएको महिना दिन बितिसक्दा पनि सुचारु नहुँदा सो क्षेत्रका स्थानीय थप मारमा परेका छन् । गत साउन २२ गतेको पहिरोले मार्बु–भोर्ले–गुरुम्फी ३२ किलोमिटर सडक पहिरोका कारण अवरोध भएको थियो । हालसम्म पनि उक्त सडक निर्माण हुन नसक्दा जोखिम मोलेर भीरको बाटो हिँड्नुपरेको स्थानीयले गुनासो गरेका छन् । गाउँपालिकाले मार्बु–गुरुम्फी मुख्य सडकको तल्लो क्षेत्रमा ठूलो क्षति भएको कारण तत्काल सुचारु गर्ने अवस्था नरहेकाले माथिल्लो क्षेत्रको सडक भने मर्मत गर्न सुरु गरेको जनाएको छ । गौरीशंकर गाउँपालिकाभित्रका मार्बु, चंखु, खारे र गुरुम्फी अहिले सडक सम्पर्कबाट टाढा रहेका छन् ।
जिल्लाकै दुर्गम क्षेत्र र सडक समस्याका कारण सो क्षेत्रका नागरिकले खाद्यान्न ढुवानी र बिरामी ओसारपसारमा समस्या भएको गुनासो गरेका छन् । गौरीशंकर गाउँपालिका अध्यक्ष स्वयम् बहादुर खड्काले गाउँपालिकाले सडक मर्मत गर्न दुईवटा मेसिन पठाए पनि लगातारको वर्षाको कारण काम गर्न समस्या भएको बताए । उनका अनुसार तल्लो क्षेत्रको ३२ किलोमिटर सडकमा ठूलो क्षति भएको हुँदा तत्कालीन समयमा गाउँपालिकाले सडक सुचारु गर्ने सम्भावना छैन । उक्त सडक मर्मतका लागि गाउँपालिकाभित्रका पाँचवटा हाइड्रोपावरलाई जिम्मा लगाएको छ । माथिल्लो भेगमा पहिरोले क्षति गरेको सडक भने गाउँपालिकाले शुक्रबार प्राविधिकसहित दुई मेसिन पठाएर सडक सुचारु गर्ने काम भइरहेको उनले बताए ।
गाउँपालिकाका प्राविधिक अरुण घतानीले माथिल्लो क्षेत्रको २७ किलोमिटर सडकको मर्मत भने मौसमले साथ दिए एक साताभित्र सकिने बताए । तल्लो क्षेत्रको ३२ किलोमिटर सडक आसपासमा करिब आधा दर्जन हाइड्रोपावरका संरचना रहेको हुँदा संरचना जोगाएर काम गर्नुपर्ने भएकोले उक्त सडक मर्मत गर्न भने केही समय लाग्ने उनको भनाइ छ । अहिले सो क्षेत्रका स्थानीय जोखिम मोलेर तामाकोशी माथिको भिरबाट आवतजावत गर्ने गरेका छन् । गत साउन २२ गते सो क्षेत्रमा पहिरो जादा दर्जन बढी घर बगाएको थियो भने एक जनाको पहिरोमा परेर मृत्यु भएको थियो ।