काठमाडौँ । निर्वाचन आयोगले कुनै राजनीतिक दल वा उम्मेदवारको निर्वाचन प्रचारप्रसारको कार्यलाई अन्य कुनै राजनीतिक दल वा उम्मेदवार वा दलका कार्यकर्ता वा आम नागरिकले अवरोध सिर्जना गर्न नहुने प्रष्ट पारेको छ ।
प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ मा सहभागी राजनीतिक दल वा उम्मेदवारबाट अर्को दल वा उम्मेदवारले अवरोध गरेका गुनासो र उजुरी प्राप्त भएकाले त्यसो नगर्न आयोगले आह्वान गरेको हो । चुनावी प्रचारप्रसारलाई निर्वाचन आयोगले विभिन्न माध्यमबाट अनुगमन गरिरहेको आयोगले जनाएको छ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले राजनीतिक दल, उम्मेदवार वा दलको भ्रातृ सङ्गठन तथा सम्बन्धित व्यक्तिले पालना गर्नुपर्ने आचरण सम्बन्धमा निर्वाचन आचारसंहिता, २०८२ को दफा १३ को उपदफा (१) को खण्ड (ङ) मा यस विषयमा उल्लेख गरिएको बताए । सो दफामा ‘कुनै राजनीतिक दल, उम्मेदवार वा दलको भ्रातृ सङ्गठनले आयोजना गरेको जुलुस, आमसभा, कोणसभा, बैठक, भेला वा अन्य कार्यक्रम बिथोल्न वा कुनै प्रकारको बाधा अवरोध पुर्याउन नहुने’ व्यवस्था छ ।
त्यसैगरी निर्वाचन (कसुर तथा सजाय) ऐन २०७३ को दफा २० को उपदफा (१) को खण्ड (क) मा ‘निर्वाचनको सिलसिलामा कुनै पनि व्यक्तिलाई निर्वाचनमा उम्मेदवारी दिन वा निर्वाचनसम्बन्धी प्रचलित सङ्घीय कानुनबमोजिम निर्वाचनको प्रचारप्रसार गर्न वा मतदानको अधिकार प्रयोग गर्नबाट बञ्चित गर्ने उद्देश्यले बाधा अवरोध पुर्याउने, पुर्याउन लगाउने, थुनछेक गर्ने वा गराउने’ कार्य गरेमा सोही ऐनको सोही दफाको खण्ड (ख) मा ‘दुई लाख रुपैयाँसम्म जरिवाना वा तीन वर्षसम्म कैद वा दुवै सजाय’ हुने व्यवस्था रहेको आयोगद्वारा जारी विज्ञेप्तीमा उल्लेख छ ।