विदेशी लगानीकर्ताले नेपालबाट लैजाने लाभांशमा झण्डै ९१ प्रतिशतको छलाङ देखिएको छ । नेपालको औद्योगिक तथा व्यावसायिक क्षेत्रमा गरेको लगानीको प्रतिफलस्वरूप लैजाने लाभांश ९०.५५ प्रतिशतले बढेको हो । चालू आर्थिक वर्षको पहिलो सात महिनामा विदेशी लगानीकर्ताले नेपालबाट १६ अर्ब २६ करोड ७६ लाख रुपैयाँ लाभांश लगेको उद्योग विभागले जनाएको छ । जुन गत आर्थिक वर्षको सात महिनाको तुलनामा सात अर्ब ७३ करोड छ लाख रुपैयाँले बढी हो । गत आर्थिक वर्षको साउनदेखि माघसम्मको सात महिनामा उनीहरूले आठ अर्ब ५३ करोड ७० लाख रुपैयाँ लाभांश नेपालबाट लगेका थिए । चालू आर्थिक वर्षको माघमा मात्र पाँच अर्ब ९३ करोड ३० लाख रुपैयाँ लाभांश वितरण गरिएको छ । यसले पनि लाभांश वितरण धेरै देखिएको विभागका सूचना अधिकारी सुरेश दाहालले जानकारी दिए ।
चालू आर्थिक वर्षको छ महिनामा १० अर्ब ३३ करोड ४५ लाख रुपैयाँ लाभांश वितरण गरिएको छ । गत आर्थिक वर्षको छ महिनामा एक अर्ब ६१ करोड ६० लाख रुपैयाँ लाभांश वितरण गरिएको थियो । गत आर्थिक वर्षमा मात्रै १० अर्ब १८ करोड ७६ लाख रुपैयाँ लाभांश वितरण गरिएको हो । सूचना अधिकारी दाहालका अनुसार लगानी प्रतिफलस्वरूप लाभांश लैजाने समय निश्चित नहुँदा कुनै महिना धेरै र कुनै महिना थोरै लाभांश वितरण देखिने गरेको छ । सेवा, पर्यटन र सञ्चार प्रविधमा लगानी गरेबापत विदेशी लगानीकर्ताहरूले ठूलो लाभांश लैजाने गरेका छन् । यसका अलावामा कृषि तथा वन पैदावरमा आधारित, ऊर्जामूलक, सूचना, प्रसारण तथा सञ्चार प्रविधि र उत्पादनमूलक उद्योग तथा व्यवासाय सञ्चालन गरी मुनाफास्वरूप लाभांश वितरण गरिएको छ । नेपाल उद्योग तथा व्यवसाय क्षेत्रमा लगानी गरेबापत विदेशीहरूले निरन्तर लाभांश लैजाने गरेको सूचना अधिकारी दाहालले जानकारी दिए । उनका अनुसार मासिकरूपमा लाखौँ रकम लाभांशबापत लैजान गरेका छन् । विदेशीहरूले न्यून संख्यामा मात्र ठूलो उद्योगमा लगानी गरे पनि साना र मझौला उद्योगमा प्रशस्त लगानी रहेको कारण लाभांश लैजान गरेको विभागले जनाएको छ । उनीहरूले लगानी प्रस्ताव उद्योग विभागमार्फत गर्छन् भने लगानी भित्र्याउने तथा लाभांश लैजाने काम भने राष्ट्र बैंकमार्फत गर्छन् । विदेशी लगानीको हकमा लाभांश लैजान, लेखांकन गर्न भने राष्ट्र बैंकमार्फत गर्नुपर्ने हुन्छ त्यसैले गर्दा आर्थिक वर्षको अन्त्यमा कायम रहेको विनियम दर (खरिद र बिक्री दरको औसत)लाई लिई उक्त रकम मूल्यांकन गरिएको राष्ट्र बैंकले जनाएको छ ।विभागका अनुसार १५ वटाभन्दा बढी मुलुकका लगानीकर्ताहरूले उक्त लाभांश रकम लगेका हुन् । नेपालको उद्योग क्षेत्रमा लगानी गरी सबैभन्दा धेरै लाभांश लैजानेमा भारतीय उद्योगी तथा व्यवसायीहरू रहेका छन् भने त्यसपछि क्रमशः आइरल्याण्ड, अष्ट्रेलिया, बेलायत, पाकिस्तान, मौरिसस, सिगांपुर, बंगलादेशलगायतका उद्योगी तथा व्यवसायीहरू रहेका छन् । पछिल्लो १५ महिनामा मात्र नभई सोभन्दा अघि पनि निरन्तर लाभांश लगेको विभागका तथ्यांकमा देखिन्छ ।
गत आर्थिक वर्षको पाँच महिनाको तुलनामा चालू आर्थिक वर्षको पाँच महिनाको अवधिमा लाभांश वितरण करिब छ गुणले बढी हो । आर्थिक वर्ष २०८०÷८१ मा १० अर्ब ३५ करोड ८५ लाख रुपैयाँ र आर्थिक वर्ष २०७९÷८० मा मात्र १६ अर्ब ७६ करोड ९३ लाख रुपैयाँ लाभांश वितरण गरिएको छ । विभागले मासिकरूपमा लाखौँ रकम लाभांश वितरण गर्दै आएको हुँदा लाभांश रकम मासिकरूपमा बढ्दै गएको देखिन्छ । यता विदेशी लगानी तथा प्रविधि हस्तान्तरण शाखाका अनुसार पछिल्लो समय लाभांश रकम लैजानको लागि आवेदन प्रक्रिया पूरा गर्नेको संख्या बढ्दै गएसँगै लाभांश रकम बढ्दै गएको हो । लगानी गरेपछि प्रतिफल लैजान प्रक्रियागत र कानुनीगत समस्या नभएसँगै रकम लैजाने क्रमले निरन्तरता पाएको हो ।
विदेशी लगानीकर्ताले लगानी गरेपछि लाभांश लैजाने मात्र नभई यहाँको नियमअनुरूप विभिन्न दस्तुरहरू बुझाउने गरेका छन् । चालू आर्थिक वर्षको सात महिनामा चार अर्ब १९ करोड २५ लाख रुपैयाँ राजस्व संकलन भएको छ । गत आर्थिक वर्षको सात महिनामा ७१ करोड ९२ लाख रुपैयाँ राजस्व संकलन भएको थियो । यसैबीच चालू आर्थिक वर्षको माघमा मात्र २८ करोड ८८ लाख रुपैयाँ राजस्व संकलन भएको छ । चालू आर्थिक वर्षको छ महिनामा भने तीन अर्ब ९० करोड ३६ लाख रुपैयाँ राजस्व संकलन भएको थियो ।
योसँगै लाभांश वितरण जस्तै राजस्व संकलनमा समेत वृद्धि भएको देखिन्छ । विभागले लाभांश वितरण राजस्व सङ्कलनका साथै उद्योगको सेयर खरिद सम्झौता (एसपीए) र साझेदारी सदस्यता सम्झौता (एसएसए) लगायतका कामहरू गरेको छ । समीक्षा अवधिमा विदेशी लगानीकर्ताहरूले नेपालमा रहेको उद्योगको लागि सेयर खरिद सम्झौता (एसपीए) र साझेदारी सदस्यता सम्झौता (एसएसए) गरेको पाइन्छ । सरकारले विदेशी लगानीलाई सहजीकरण गर्नका लागि स्वचालित मार्गबाट समेत लगानी भित्र्याउने र लभांश वितरणको काम गरेको छ । विदेशी लगानीकर्ताले स्वचालित मार्गबाट नेपालमा लगानी गर्दा सातवटा औद्योगिक तथा व्यावसायिक क्षेत्रका ६० प्रकारका उद्योग तथा व्यसायमा लगानी गर्न पाउने व्यवस्था गरिएको छ । लगानीपछि प्रतिफलस्वरूप लाभांश लैजाने गरेका छन् । विदेशी लगानीकर्तालाई प्रत्यक्ष विदेशी लगानी तथा हस्तान्तरण ऐन, २०७५ ले नेपालमा रहेको उद्योग क्षेत्रमा लगानी गर्ने अधिकार प्रदान गरेको छ । ‘औद्योगिक व्यवसाय ऐन–०७५’ अनुसार १० करोड रुपैयाँसम्म स्थिर पुँजी भएको साना, १० करोड रुपैयाँदेखि २५ करोड रुपैयाँसम्मको स्थिर पुँजी भएको मझौला र २५ करोड रुपैयाँभन्दा बढी स्थिर पुँजी भएको ठूला विभागले दर्ता गर्छ ।