काठमाडौं । मुद्दती निक्षेप भनेको कुनै पनि ग्राहकले कुनै निश्चित समेतसम्म तोकेर बैंकिङ क्षेत्रमा राखिने बचत रकम हो । यसरी राखिने निक्षेपमा त्यो अवधि नपुगेसम्म रकम निकाल्न पाइँदैन । यदि निकाल्नै परेमा नियमितरूपमा पाउने ब्याजबाट केही प्रतिशत ब्याज तिर्नुपर्ने हुन्छ । यस्तो निक्षेपमा बैंक र ग्राहक दुवैलाई फाइदा हुन्छ । यस्तो निक्षेपबाट जम्मा भएको रकम बैंकहरूले दीर्घकालीन आयोजनाहरूमा लगानी गर्न सक्छन् भने सम्बन्धित ग्राहकले पनि अन्यको तुलनामा राम्रै ब्याज पाउने गर्छन् । तर पछिल्लो समय बैंकिङ क्षेत्रमा यस्तो निक्षेपको परिमाण भने घट्दै गएको देखिएको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको पुस मसान्तसम्ममा बैंक तथा फाइनान्स कम्पनीहरूले कुल ७७ अर्ब २३ अर्ब ९९ करोड ५० लाख रुपैयाँ निक्षेप संकलन गरेका छन् । उक्त निक्षेपमा मुद्दती निक्षेपको अंश ४२ दशमलव ५६ प्रतिशत मात्र रहेको छ । गत आवको सोही अवधिमा बैंक तथा फाइनान्स कम्पनीहरूले कुल ६७ खर्ब ३७ अर्ब ५८ करोड २० लाख रुपैयाँ निक्षेप संकलन गर्दा मुद्दती निक्षेपको अंश ५२ दशमलव १९ प्रतिशत रहेको थियो । चालू आवको पुस मसान्तसम्ममा बैंक तथा फाइनान्स कम्पनीहरूको कुल निक्षेपमा मुद्दती, बचत, चल्ती र कल डिपोजिटको अनुपातमा क्रमशः ४२ दशमलव ५६, ४१ दशमलव शून्य आठ, सात दशमलव शून्य चार र आठ दशमलव ६५ प्रतिशत रहेको छ । गत आवको सोही अवधिमा यस्तो अनुपात क्रमशः ५२ दशमलव १९, ३३ दशमलव ८७, पाँच दशमलव ६९ र सात दशमलव ५६ प्रतिशत रहेको थियो ।
राष्ट्र बैंकका अनुसार चालू आवको पुस मसान्तसम्ममा वाणिज्य बैंकहरूले मात्र कुल ६९ खर्ब ५३ अर्ब ६८ करोड ९० लाख रुपैयाँ निक्षेप संकलन गरेकोमा मुद्दती, बचत, चल्ती र कल डिपोजिटको अनुपात क्रमशः ४२ दशमलव ५०, ४० दशमलव ६५, सात दशमलव ५३ र आठ दशमलव ६० प्रतिशत रहेको छ । गत आवको सोही अवधिमा वाणिज्य बैंकहरूले कुल ५९ खर्ब ९१ अर्ब सात करोड ८० लाख रुपैयाँ निक्षेप संकलन गर्दा मुद्दती, बचत, चल्ती र कल निक्षेपको अनुपात क्रमशः ५१ दशमलव ५३, ३४ दशमलव शून्य पाँच, छ दशमलव १५ र सात दशमलव ५२ प्रतिशत रहेको थियो । विकास बैंकहरूले भने चालू आवको पुुस मसान्तसम्ममा छ खर्ब ३२ अर्ब ३९ करोड रुपैयाँ निक्षेप संकलन गर्दा मुद्दती, बचत, चल्ती र कल निक्षेपको अनुपात क्रमशः ३९ दशमलव १७, ४८ दशमलव ८९, दुई दशमलव ८७ र आठ दशमलव ९३ प्रतिशत रहेको छ । गत आवको सोही अवधिमा विकास बैंकहरूले छ खर्ब १३ अर्ब ६७ करोड ७० लाख रुपैयाँ निक्षेप संकलन गर्दा मुद्दती, बचत, चल्ती र कल डिपोजिटको अनुपात क्रमशः ५५ दशमलव ४७, ३४ दशमलव ४३, दुई दशमलव २२ र सात दशमलव ८४ प्रतिशत रहेको थियो ।
फाइनान्स कम्पनीहरूले भने चालू आवको पुस मसान्तसम्ममा एक खर्ब ३७ अर्ब ९१ करोड ६० लाख रुपैयाँ निक्षेप संकलन गर्दा मुद्दती, बचत, चल्ती र कल निक्षेपको अनुपात क्रमशः ४२ दशमलव ५६, ४१ दशमलव शून्य आठ, सात दशमलव शून्य चार र आठ दशमलव ६५ प्रतिशत रहेको छ । गत आवको सोही अवधिमा फाइनान्स कम्पनीहरूले कुल एक खर्ब ३२ अर्ब ८२ करोड ७० लाख रुपैयाँ निक्षेप संकलन गर्दा मुद्दती, बचत, चल्ती र कल डिपोजिटको अनुपात क्रमशः ५२ दशमलव १९, ३३ दशमलव ८७, पाँच दशमलव ६९ र सात दशमलव ५६ प्रतिशत रहेको थियो ।