काठमाडौं । निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक निर्वाचन सामग्री र मतपत्र ७५ जिल्लामा पुर्याएको जनाएको छ ।
आयोगका अनुसार काठमाडौँ र भक्तपुर बाहेक सबै जिल्लामा ‘पहिलो हुने निर्वाचित हुने’ तथा ‘समानुपातिक निर्वाचन प्रणाली’ अन्तर्गतका मतपत्रसहितका सामग्री ढुवानीको काम सकिएको हो । बाँकी दुई जिल्लाका निर्वाचन कार्यालयमा बिहीबार सामग्री पठाइने सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिए । यस्तै आयोगले आसन्न निर्वाचनका लागि एक लाख ८६ हजार अस्थायी मतदाता कायम गरिएको छ । यी मतदाताले समानुपातिकतर्फ तोकिएका मतदानस्थलबाट मतदान गर्न पाउने व्यवस्था गरिएको आयोगले जनाएको छ । स्थायी मतदाता नामावलीमा नाम रहे पनि निर्वाचनमा खटिनुपर्ने वा अन्य कारणले आफ्नो तोकिएको मतदान केन्द्रमा पुग्न नसक्ने कर्मचारी, सुरक्षाकर्मी तथा कारागारमा रहेका थुनुवा र कैदीलाई अस्थायी मतदाता सूचीमा समावेश गरिएको हो । अस्थायी मतदाताका लागि देशभर १४३ मतदानस्थल निर्धारण गरिएको छ ।
आयोगले निर्वाचनको दिन सवारी साधन सञ्चालनलाई नियमन गर्न ‘सवारी साधनको अनुमतिसम्बन्धी कार्यविधि, २०८२’ लागू गरेको जनाएको छ । सो कार्यविधिअनुसार निर्वाचनका दिन पर्यटक ओसारपसारका सवारी साधन सञ्चालन गर्न कम्तीमा दुई दिनअघि अनुमति लिनुपर्ने व्यवस्था गरिएको छ । राष्ट्रिय वा अन्तर्राष्ट्रिय हवाई उडान भने नरोकिने जनाइएको छ । सम्बन्धित जिल्ला प्रशासन कार्यालय तथा काठमाडौँका हकमा आयोगबाट अनुमति लिएरमात्र सवारी सञ्चालन गर्न पाइने आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताए ।
राजमार्गमा सञ्चालन हुने सवारी साधनको आवागमनलाई समेत व्यवस्थित गर्ने प्रावधान कार्यविधिमा समेटिएको छ । अत्यावश्यक सेवा, कूटनीतिक नियोग र मानव अधिकार आयोगका सवारी बाहेक अन्य सवारी साधन अनुमति लिएरमात्र सञ्चालन गर्न पाइने व्यवस्था गरिएको आयोगले स्पष्ट पारेको छ ।