काठमाडौं । कालिञ्चोक हाइड्रोपावर लिमिटेडको साधारण सेयरको बिक्री खुल्ला भएको छ । कम्पनीले फागुन १३ गते बुधबारदेखि आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि साधारण सेयरको बिक्री खुल्ला गरेको हो ।
कम्पनीले गत माघ १९ गते १३ करोड ७५ लाख रुपैयाँ बराबरको एक सय रूपैयाँ अंकित दरका १३ लाख ७५ हजार कित्ता साधारण सेयर जारी गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।
कम्पनीको कुल जारी पुँजी ५५ करोडको २५ प्रतिशत अर्थात् १३ करोड ७५ लाख रुपैयाँको १०० अंकित दरका १३ लाख ७५ हजार कित्ता साधारण सेयरमध्ये जारी पुँजीको १० प्रतिशत अर्थात् ५ करोड ५० लाखको १०० रूपैयाँ अंकित दरका ५ लाख ५० हजार कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्र दोलखा जिल्ला, विगु गाउँपालिका वडा नं. ८ तथा कालिन्चोक गाउँपालिका वडा नं. १ र २ का स्थानिय बासिन्दाहरूको लागि र बाँकी ८ लाख २५ हजार कित्ता मध्ये नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीहरूलाई १० प्रतिशत अर्थात् ८२ हजार ५०० कित्ता साधारण सेयर निष्कासन गरेको हो ।
आयोजना प्रभावित क्षेत्रका बासिन्दाले न्यूनतम १० कित्ता र अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । यस्तै वैदेशिक रोजगारीमा रहेका नेपालीले न्यूनतम १० र अधिकतममा चार हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि आईपीओ निष्कासन बन्द छिटोमा फागुन २७ गते र ढिलोमा चैत १२ गते हनेछ । वैदेशिक रोजगारीमा रहेका लागि भने आईपीओ निष्कासन बन्द छिटोमा फागुन १७ गते र ढिलोमा फागुन २७ गते हुनेछ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ ।