काठमाडौं । नेपाल राष्ट्र बैंकले सरकारी कारोबार निर्देशिका, २०७६ (दोस्रो संशोधन २०८१) लाई प्रभावकारीरूपमा कार्यान्वयनमा ल्याउन निर्देशन दिएको हो ।
राष्ट्र बैंकले बिहीबार महालेखा नियन्त्रक कार्यालय, कोष तथा लेखा नियन्त्रक कार्यालय, सार्वजनिक ऋण व्यवस्थापन कार्यालय र अन्य सबै सरकारी कार्यालयहरूलाई सम्बोधन गर्दै सरकारी कारोबार निर्देशिका, २०७६ (दोस्रो संशोधन २०८१) अन्तर्गत चेकमार्फत हुने कारोबारलाई प्रभावकारीरूपमा कार्यान्वयनमा ल्याउन निर्देशन दिएको हो ।
राष्ट्र बैंकले चेकमार्फत हुने कारोबारका सम्बन्धमा जारी गरेको पत्रमा भनिएको छ, सरकारी कारोबार निर्देशिका, २०७६ (दोस्रो संशोधन २०८१)को व्यवस्थाबमोजिम धरौटी तथा अन्य विविध जम्मा, ऋण साँवा फिर्ता, अनुदान जम्मा तथा भुक्तानीसम्बन्धी केही चेकहरूमा अन्य कार्यालय तथा तेस्रो पक्षको नाममा खिचिएको एकाउन्टपेयी चेकलाई कोष तथा लेखा नियन्त्रक कार्यालयले इन्डोर्समेन्ट गरेर आफ्नो खातामा जम्माको लागि पठाएको, सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको नाममा खिचिएको एकाउन्टपेयी चेकलाई उक्त सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले इन्डोर्समेन्ट गरेर महालेखा नियन्त्रक कार्यालयको नाममा जम्मा गर्न पठाएको, नेपाल राष्ट्र बैंक, वाणिज्य बैंक तथा वित्तीय संस्थामा कुनै पनि खाता नभएका संघसंस्थाको नाममा खिचिएको एकाउन्टपेयी चेकलाई को.ले.नि.का. को खातामा जम्माको लागि पठाएको हुँदा उपरोक्त कारोबारहरू सरकारी कारोबार निर्देशिका, २०७६ (दोस्रो संशोधन २०८१) बमोजिम नरहेको हुँदा आगामी दिनहरूमा उक्त व्यवस्था पालना गर्न/गराउनु हुन अनुरोध छ ।
साथै, महालेखा नियन्त्रक कार्यालय, कोष तथा लेखा नियन्त्रक कार्यालय वा अन्य सरकारी संघसंस्थाले विदेशी बैंकमा रहेको कुनै व्यक्ति, फर्म वा संस्थाको नामको खातामा स्वीफ्टमार्फत जम्मा गर्ने प्रयोजनको लागि नेपालस्थित जुन बैंकमार्फत स्वीफ्ट गरिने हो सोही बैंकको नाममा चेक खिच्न समेत राष्ट्र बैंकले आग्रह गरेको छ ।
सरकारी कारोबार निर्देशिका, २०७६ (दोस्रो संशोधन २०८१) बमोजिम नभएका चेकहरूको जम्मा तथा भुक्तानी गर्न नेपाल राष्ट्र बैंक, वाणिज्य बैंक तथा वित्तीय संस्थाहरू बाध्यकारी हुने छैन, पत्रमा भनिएको छ ।
सरकारी खाताहरूबाट रकम भुक्तानी गर्दा वित्तीय भुक्तानी प्रणाली वा एकाउन्टपेयी चेकमार्फत गर्नुपर्नेछ । सरकारी चेकसम्बन्धी व्यवस्थाहरूअन्तर्गत नेपाल राष्ट्र बैंक वा वाणिज्य बैंकहरूले खिच्ने चेकको अग्रभागको माथिपट्टिको खाली स्थानमा अनिवार्यरूपमा चेक राइटर, चेक पंच, चेक प्रोटेक्टर वा रिवन राइटर लगाउनु पर्नेछ । कार्यालयको नाममा खिचिएका चेक सम्बन्धित कार्यालय आफैँले खातामा जम्मा गर्न पठाउँदा सम्बन्धित कार्यालयको प्रस्ट बुझिने छाप चेकको पछाडि अनिवार्यरूपमा लगाएको हुनुपर्नेछ ।
तर सम्बन्धित कार्यालयको लागि अन्य व्यक्ति, फर्म, कम्पनी वा संस्थाले त्यस्तो चेक खातामा जम्मा गरिदिँदा भने छाप लगाउन अनिवार्य नहुने राष्ट्र बैंकले जनाएको छ । क्लियरिङमार्फत प्राप्त चेकको रकम जसको नाममा चेक खिचिएको हो, उसैको नामको खातामा जम्मा गर्न पनि राष्ट्र बैंकले निर्देशन दिएको छ ।