काठमाडौं । निष्क्रिय कर्जा व्यवस्थापनमा विकास बैंकहरू कमजोर देखिएका छन् । पाँच खर्ब ३६ अर्ब रुपैयाँको हाराहारीमा कर्जा प्रवाह हुँदा झण्डै ३१ अर्ब रुपैयाँ कर्जा निष्क्रिय देखिनुले पनि विकास बैंकहरू निष्क्रिय कर्जा व्यवस्थापनमा कमजोर देखिएका हुन् ।
राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको पुस मसान्तसम्ममा विकास बैंकहरूले कुल पाँच खर्ब ३६ अर्ब ९५ करोड ४० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । प्रवाह भएको उक्त कर्जामध्ये पाँच दशमलव ७५ प्रतिशतका दरले हुन आउने ३० अर्ब ८७ करोड ४८ लाख ५५ हजार रुपैयाँबराबरको कर्जा निष्क्रिय कर्जाको सूचीमा परेको छ । विकास बैंकहरूमा रहेको यो निष्क्रिय कर्जा गत आवको सोही अवधिको तुलनामा शून्य दशमलव ६४ प्रतिशत अर्थात् चार अर्ब ४१ करोड ४२ लाख ४८ हजार आठ सय रुपैयाँले बढी हो । गत आवको सोही अवधिमा विकास बैंकहरूले कुल पाँच खर्ब १७ अर्ब ७४ करोड २० लाख रुपैैयाँ कर्जा प्रवाह गर्दा पाँच दशमलव ११ प्रतिशतका दरले हुन आउने २६ अर्ब ४५ करोड ६६ लाख १६ हजार दुई सय रुपैयाँबराबरको कर्जा निष्क्रिय देखिएको थियो ।
राष्ट्र बैंकको बैंक तथा फाइनान्स कम्पनीहरूको निक्षेप तथा कर्जा प्रवाहसम्बन्धी प्रतिवेदनले यसो भनिरहँदा विकास बैंकहरू स्वयम्ले सार्वजनिक गरेको चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अपरिष्कृत वित्तीय विवरणमा पनि निष्क्रिय कर्जा उच्चरूपमा बढेको देखिएको छ । अपरिष्कृत वित्तीय विवरणअनुसार चालू आवको पुस मसान्तसम्ममा कामना सेवा, मितेरी, सांग्रिला र लुम्बिनी विकास बैंकमा क्रमशः चार दशमलव १०, शून्य दशमलव ४४, छ दशमलव ८७ र छ दशमलव ७८ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ । गत आवको सोही अवधिमा यी बैंकहरूमा यस्तो कर्जाको अनुपात क्रमशः चार दशमलव ३५, एक दशमलव ७४, चार दशमलव ९९ र चार दशमलव ६८ प्रतिशत कर्जा निष्क्रिय देखिएको थियो । सिन्धु, मुक्तिनाथ र ग्रीन डेभलपमेन्ट बैंकमा पनि पछिल्लो अवधिमा क्रमशः छ दशमलव ३९, तीन दशमलव ७५ र चार दशमलव २० प्रतिशत कर्जा निष्क्रिय देखिएको छ । गत आवको सोही अवधिमा यी बैंकहरूमा क्रमशः नौ दशमलव शून्य छ, तीन दशमलव ९८ र चार दशमलव ८८ प्रतिशत कर्जा निष्क्रिय देखिएको थियो ।
अपरिष्कृत वित्तीय विवरणअनुसार गरिमा, महालक्ष्मी र कर्पोरेट डेभलपेन्ट बैंकमा पनि चालू आवको पछिल्लो अवधिमा क्रमशः चार दशमलव ७८, छ दशमलव १० र नौ दशमलव ७९ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ । गत आवको सोही अवधिमा यी बैंकहरूमा क्रमशः चार दशमलव ७२, चार दशमलव ९३ र सात दशमलव ५३ प्रतिशत कर्जा निष्क्रिय देखिएको थियो । शाइन रेसुंगा, ज्योति, सप्तकोशी र सालपा विकास बैंकमा पनि पछिल्लो अवधिमा क्रमशः चार दशमलव ७५, सात दशमलव ८२, आठ दशमलव २९ र चार दशमलव ९२ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ । गत आवको सोही अवधिमा यी बैंकहरूमा क्रमशः चार दशमलव ४०, चार दशमलव ९८, ११ दशमलव ४२ र पाँच दशमलव ७१ प्रतिशत कर्जा निष्क्रिय देखिएको थियो । नारायणी डेभलपमेन्ट बैंकमा भने पछिल्लो अवधिमा विकास बैंकहरूमध्येमा सबैभन्दा बढी अर्थात् ५७ दशमलव ४८ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ । गत आवको सोही अवधिमा पनि यस बैंकमा ४३ दशमलव ६९ प्रतिशत कर्जा निष्क्रिय देखिएको थियो ।