काठमाडौं । नेपाल घुम्न आउने पदयात्री पर्यटकहरूको उद्दारको नाममा फर्जी बीमा दाबी भुक्तानी लिई अर्बौँ रुपैयाँ ठगी धन्दा चलाउनेहरूको अहिले भागाभाग हुन थालेको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले ठमेलमा विभिन्न कम्पनीमार्फत यो धन्दामा संलग्न रहेको अभियोगमा हालसम्म नौ जना व्यक्तिहरूलाई पक्राउ गरिसकेको छ । दर्जनभन्दा बढी व्यक्तिविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
ट्रेकिङ कम्पनी, हेलिकोप्टर कम्पनी, रेस्क्यु कम्पनी, पर्यटन सम्बद्ध अस्पतालको मिलेमतोमा नेपाल घुम्न आउने पदयात्री पर्यटकमाथि बीमा भुक्तानीको नाममा ठगी हुँदै आएको विषयमा खबर प्रकाशन भएपछि प्रहरीले छानबिन थालेको थियो । केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ परेकाहरूविरुद्ध राष्ट्रहितविरुद्धको कसुर, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा म्याद थप गरेर अनुसन्धान गरिरहेको छ । फेक रेस्क्यु धन्दामा संलग्न रहेका एक ठूला हेलिकोप्टर कम्पनीका मालिक डोल्पामा लुकेर बसिरहेको समेत पाइएको छ । सीआईबीले पक्राउ गर्ने आशंका बढेपछि उनी अहिले त्यहाँ रहेको बुझिएको छ ।
हाल पक्राउ परेका जयराम रिमाल, राजेन्द्र बहादुर सिंह, सन्दिप तिवारी, मुक्ती पाण्डे, सुवास केसी, डा. गिर्वाणराज तिमिल्सिना र रविन्द्र अधिकारीलगायतसँग शंकास्पद कारोबारमा जोडिएकाहरूमाथि समेत सीआईबीले अनुसन्धान गरिरहेको छ । विशेषगरी उनीहरूको खातामा भएको शंकास्पद कारोबारमा मुछिएका व्यक्तिहरूमाथि अनुसन्धान जारी छ ।
लाक्पा शेर्पाको स्वामित्व रहेको ईजी हेलिकोप्टर रेस्क्यु कम्पनीले सबैभन्दा धेरै फेक रेस्क्युको धन्दा गरिरहेको खुलेको छ । तर, शेर्पा अहिले फरार भएका छन् । उनको स्वामित्वमा ईरा अस्पताल समेत रहेको बुझिएको छ । ईराका सबै सञ्चालकहरू फेक रेस्क्युबाट आएका बिरामीको उपचार गराउने धन्दामा संलग्न छन् । पक्राउ परेका डा. गिर्वाण ईरा अस्पतालकै मेडिकल डाइरेक्टर हुन् ।
फुर्वा शेर्पाको स्वामित्व रहेको डेली हेलि फ्लाइ सर्भिस पनि फेक रेस्क्यु धन्दामा रहेको भए पनि अनुसन्धानमा पक्राउ पर्न सकेका छैनन् । फेक रेस्क्यु धन्दामा विदेशी कम्पनीहरू समेत सामेल छन् । वल्र्ड ट्राभल प्रोटेक्सन समेत संलग्नता रहेको छ । ठमेलको हिमालयन हाइट प्लाजाको तेस्रो तलामा गुपचुप कार्यालयरहेको नेपाल माउन्टेन एसिस्टेन्स पनि नक्कली उद्दार तथा ठगी कार्यमा संलग्न रहेको छ । जसको सम्बन्ध हाल पक्राउ परेका अभियुक्तहरूसँग समेत रहेको पाइएको छ ।
ग्लोबल हेली चार्टर सर्भिसका सञ्चालकहरू पनि फेक रेस्क्यु तथा फर्जी उद्दारको धन्दामा रहेको अनुसन्धानले देखाएको छ । यो कम्पनीका सञ्चालक र हाल पक्राउ परेका कम्पनीका मालिकहरूको वित्तीय कारोबारसमेत विश्लेषण भइरहेको छ । कैलाश हेली चार्टर सर्भिसका ईश्वरी पौडेल लुकेर बसेका छन् । कैलास हेलिकोप्टरको डाइरेक्टर रहेका उनले सबैभन्दा धेरै रेस्क्यु गरेको बुझिएको छ । तर, उनी सीआईबीलाई झुक्याएर फरार रहेको खुलेको छ ।
उनले अनुमानित ४५ मिलियन डलरको शंकास्पद कारोबार गरेको समेत स्रोतले बताएको छ । हेलिकोप्टर कम्पनीको साझेदार भएकै आधारमा पौडेलको अर्बौँको सम्पत्ति रहेको बुझिएको छ । त्यस्तै स्नो आइस रेस्क्यु कम्पनीको कारोबार शंकास्पद रहेको र ती कम्पनीका सञ्चालकहरू हाल पक्राउ परेका अभियुक्तहरूसँग मुछिएको स्रोतले बतायो ।
अल्पाइन रेस्क्यु कम्पनीका सञ्चालकहरू माथि पनि सीआईबीले छानबिन थालेको छ । यो कम्पनीका सञ्चालक प्रकाशचन्द्र लोहनीले नक्कली बीमा भुक्तानी गरेको प्रमाणहरू नै सार्वजनिक भएका छन् । नेपाल रेस्क्यु एन्ड मेडिकल एसिस्टेन्स नामक कम्पनीको धन्दा पनि फेक रेस्क्यु नै हो । यो कम्पनी र हाल पक्राउ परेका अभियुक्तहरूबीच शंकास्पद कारोबार रहेको स्रोतले बताएको छ । उनीहरूको कारोबार पनि अनुसन्धान गर्दा फेक रेस्क्युको नयाँ पर्दा खुल्न सक्नेछ ।
ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)का पूर्व महासचिव विनोद सापकोटा पनि फेक रेस्क्यु धन्दामा संलग्न छन् । हेली अन कल नामक कम्पनीमार्फत फेक रेस्क्यु धन्दा गर्दै आएका उनको यो कम्पनी र हाल पक्राउ परेका अभियुक्तहरूले सञ्चालन गरेको कम्पनीबीच पनि शंकास्पद कारोबार छ ।
वर्ल्ड मेड एसिस्टेन्सको पनि फेक रेस्क्यु धन्दामा संलग्नता रहेको छ । यो कम्पनीको कारोबार शंकास्पद रहेको छ । टानकै पूर्वसदस्य रहेका बलबहादुर सामरीले सञ्चालन गरेको मेरिट एडभेन्चर नामक कम्पनीले पनि फेक रेस्क्युको धन्दा गर्दै आएको छ ।
सामान्य परिवारबाट आएका सामरीले पनि फेक रेस्क्युबाटै अकुत सम्पत्ति आर्जन गरेका छन् । फेक रेस्क्यु धन्दा गरेको अभियोगमा पक्राउ परेका अभियुक्तहरूसँग उनको राम्रो उठबस र कारोबार समेत छ । उनले कतिपयबाट कमिसन बुझेको समेत पाइएको छ ।
भारतीय कम्पनी मेडी एसिस्टले पनि फेक रेस्क्यु गर्दै आएको छ । तर, राज्यको अनुसन्धानको दायरामा पर्न नसकेको निकटस्थ स्रोतहरूको दाबी छ । फस्ट एसिस्टेन्स नेपाल नामक कम्पनीले पनि लामो समयदेखि फेक रेस्क्यु धन्दामा सामेल रहेको र सञ्चालकहरू फरार रहेको बताइएको छ । वेभसाइट नै डाउन गरेर संचालकहरू फरार रहेको सीआईबी स्रोतले बताएको छ । यो कम्पनीका मालिक भानु ढकाल रहेको बुझिएको छ र ढकाल अहिले नेपालमा नरहेको स्रोतले बतायो ।
ठमेलस्थित ईरा अन्तर्राष्ट्रिय अस्पतालमाथि पनि सीआईबीले छानबिन गरिरहेको छ । सञ्चालकहरू लाक्पा शेर्पालगायतको कारोबार शंकास्पद देखिएको स्रोत बताउँछ । कतिपय सञ्चालकविरुद्ध पक्राउ पुर्जी समेत जारी भएको बताइएको छ । सिवेक क्लिनिकले पदयात्री पर्यटकको उपचारमा लुट मच्चाउँदै आएको छ । तर, अनुसन्धानको दायरा भने उनीहरूमाथि केन्द्रित हुन नसकेको बताइएको छ ।
ठूला अधिकांश अस्पताल फेक रेस्क्यु धन्दामा संलग्न छन् । ह्याम्स, नर्भिक, मेडिसिटी, फ्रन्टलाइनलगायतको अस्पतालमाथि छानबिन चलिरहेको छ । सञ्चालकहरू सुटुक्क विदेश भाग्न थालेका छन् । फ्रन्ट लाइन अस्पतालमा एभरेष्ट एक्सपेरियन्स र एभरेष्ट कनेक्सनले फेक रेस्क्यु गरेको बिरामी भित्र्याउने गरेका छन् । अस्पताल सञ्चालकहरू छानबिनमा तानिने प्रमाण सीआईबीमै रहेको स्रोतको भनाइ छ । सप्रदा एडभेन्चर्स र प्रिसियस ट्राभल्समाथि पनि छानबिन चलिरहेको छ ।