काठमाडौं । बर्दघाट एसएमई भिलेजलाई मोडल ग्राम बनाउनुपर्नेमा जोड दिइएको छ । नवलपरासीको बर्दघाटमा आयोजित लगानी फोरममा सहभागी उद्योगी–व्यवसायी तथा लगानीकर्ताले बर्दघाट एसएमई भिलेजलाई पाइलट प्रोजेक्टका रूपमा अघि बढाई मोडल ग्राम बनाउनुपर्नेमा जोड दिए ।
नेपाल उद्योग परिसंघको आयोजना तथा बर्दघाट उद्योग वाणिज्य संघ, उद्योग व्यापार संघ बर्दघाट र नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चको सहआयोजनामा भएको छलफलमा परिसंघका कार्यवाहक अध्यक्ष निर्वाण चौधरीले उद्यमशीलता प्रवर्द्धनमा परिसंघ सधैं तत्पर रहेको बताए । उनले बर्दघाट एसएमई भिलेजलाई पाइलट प्रोजेक्टका रूपमा अघि बढाई मोडल ग्राम बनाइनुपर्नेमा जोड दिए । उद्योग स्थापनामा कुल लगानीको एक तिहाइ हिस्सा जग्गामा खर्चिनुपर्ने बाध्यता रहेकाले औद्योगिक ग्रामको विकास अपरिहार्य भएको उनको भनाइ थियो । नवलपरासीमा ठूला उद्योग स्थापना भइसकेको र सडक तथा अन्य पूर्वाधार विस्तार भइसकेकाले साना तथा मझौला उद्योग विस्तारको सम्भावना उच्च रहेको उनले बताए । उनले ‘मेक इन नेपाल स्वदेशी अभियान’ मार्फत बर्दघाट एसएमई ग्राम विकासमा आवश्यक भूमिका खेल्ने प्रतिबद्धता जनाए ।
नेपाल सरकारका पूर्व सचिव अर्जुन पोखरेलले ‘एक पालिका, एक औद्योगिक ग्राम’ अवधारणाअनुसार बर्दघाट एसएमई भिलेज अघि बढाइएको जानकारी दिए । निजी क्षेत्रको सहकार्यबिना औद्योगिक ग्राम सफल नहुने उल्लेख गर्दै उनले लगानीकर्तालाई सक्रिय सहयोगका लागि आह्वान गरे । नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष शेखर गोल्छाले औद्योगिक ग्रामले औद्योगिकीकरणमा टेवा पुग्ने बताए । देशमा बढ्दो बेरोजगारी समस्या समाधानका लागि उद्योग स्थापना अनिवार्य रहेको उनको भनाइ थियो । उद्योग सञ्चालनसँगै केही वातावरणीय प्रभाव देखिन सक्ने भए पनि त्यसलाई सकारात्मक ढंगले व्यवस्थापन गर्नुपर्नेमा उनले जोड दिए । सय अर्ब डलरको अर्थतन्त्र निर्माणका लागि लगानी प्रोत्साहन र कानुनी प्रतिफलको सम्मान आवश्यक रहेको उनले उल्लेख गरे ।
परिसंघका पूर्व अध्यक्ष विष्णुकुमार अग्रवालले कुल गार्हस्थ उत्पादन (जीडीपी) मा उत्पादनमूलक उद्योगको योगदान घटेर ५ प्रतिशतमा सीमित भएको उल्लेख गर्दै यसलाई बढाउने रणनीति आवश्यक रहेको बताए । बंगलादेश र भारत मा सफल औद्योगिक पार्क सञ्चालनबाट अर्थतन्त्रमा टेवा पुगेको उदाहरण दिँदै नेपालमा पनि समान सुविधा उपलब्ध गराएर औद्योगिक ग्राम सफल बनाउनुपर्ने धारणा राखे । उनले एमएडब्लू स्किल एकेडेमी विस्तारमा समेत चासो देखाए । परिसंघका उपाध्यक्ष रोहित गुप्ताले स्थानीय सहयोगका कारण एक वर्षभित्रै बर्दघाटमा कजरिया टायल उद्योग स्थापना गर्न सफल भएको अनुभव सुनाए । ठूला उद्योगसँगै साना तथा मझौला उद्योगको विकासले मूल्य अभिवृद्धि, लागत न्यूनीकरण र रोजगारी सिर्जनामा टेवा पुग्ने उनले बताए ।
बर्दघाट उद्योग वाणिज्य संघका अध्यक्ष लेखनाथ न्यौपानेले साना उद्योग प्रवद्र्धनका लागि औद्योगिक ग्राम अपरिहार्य रहेको बताए । उद्योग व्यापार संघ बर्दघाटका उपाध्यक्ष लिलाहरी पौडेलले भारतसँगको सीमाना नजिक भएकाले कच्चा पदार्थ आयात र उत्पादित वस्तु निर्यातमा सहजता रहेको उल्लेख गरे । विद्युत्, यातायात सञ्जाल तथा दक्ष जनशक्तिको उपलब्धताले लगानी आकर्षित गर्ने उनको विश्वास छ । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले कृषि, पर्यटन र ठूला उद्योगका लागि बर्दघाट उपयुक्त क्षेत्र रहेको बताए । २५० भन्दा बढी वित्तीय संस्थाको उपस्थिति रहेकाले वित्तीय पहुँच सहज रहेको उनले जानकारी दिए । नेपाल उद्योग परिसंघ लुम्बिनी प्रदेशका अध्यक्ष एजाज आलम तथा युवा उद्यमी मञ्च लुम्बिनीका अध्यक्ष राजन कसजुले युवा उद्यमशीलता प्रवर्द्धनमार्फत विदेश पलायन रोक्न सकिने धारणा राखे । अन्तरक्रियामा सयभन्दा बढी उद्योगी तथा व्यवसायीको सहभागिता रहेको थियो ।