काठमाडौं । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले प्रतिनिधिसभा सदस्यको निर्वाचन तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएका छन् ।
आयोगले बिहीबार आयोजना गरेको नेपालस्थित कूटनीतिक नियोगका अधिकारीसँगको अन्तरक्रिया कार्यक्रममा उहाँले फागुन २१ गते हुने निर्वाचनको तयारीलाई आयोगले तिव्रता दिइरहेको बताए । उनले स्वच्छ, निष्पक्ष र विश्वसनीय निर्वाचन गराउन आयोग लागिरहेको उल्लेख गरे । आयोगका सचिव कृष्णबहादुर राउतले निष्पक्ष निर्वाचन गराउन जिल्ला जिल्लामा निर्वाचन आचारसंहिता अनुगमन समिति गठन गरिएको बताए । निर्वाचनलाई पारदर्शी बनाउन राजनीतिक दल र उम्मेदवारले निर्वाचन खर्च गराउन अनिवार्य बैंक खाता खोल्ने व्यवस्था गरिएको उनले जानकारी दिए । कार्यक्रममा नेपालस्थित कूटनीतिक नियोगका अधिकारीहरू, आयोगका आयुक्तद्वय डा. जानकीकुमारी तुलाधर र सगुन शमशेर जबरालगायत उच्च पदस्थ अधिकारीहरूको उपस्थिति थियो ।
१६५ वटै निर्वाचन क्षेत्रमा पुग्यो निर्वाचन सामग्री
आयोगले निर्वाचनका लागि देशभरका १ सय ६५ वटै क्षेत्रमा निर्वाचन सामग्री पुगेको जनाएको छ । पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली तथा समानुपातिक निर्वाचन प्रणालीतर्फको गरी चार करोड ११ लाख ५३ हजार मतपत्र ७७ वटै जिल्लाका निर्वाचन क्षेत्रमा पुगेको आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिए ।
आयोगबाट स्वीकृत कार्य तालिकाअनुसार व्यवस्थापकीय कार्य तालिकाबद्ध र तोकिएको समयमा सञ्चालन भइरहेको उनले बताए । मतपत्र लगायतका सामग्रीहरू सबै निर्वाचन क्षेत्रमा पुगेपनि केही सामग्री भने जिल्लामै व्यवस्थापन हुनेछन् ।