काठमाडौं । इजरेलले इरानविरुद्ध हमला गरेको बताएको छ।इरानले हमला गर्न सक्ने भन्दै इजरेलविरुद्धको खतरा हटाउन आफूले पहिला हमला गरेको इजरेली रक्षा मन्त्रालयले जनाएको छ।आफ्नो आक्रमणको बदलामा अब निकट भविष्यमा इजरेलमा क्षेप्यास्त्र हमला हुन सक्ने अपेक्षा गरिएको पनि उसले बताएको छ। बिहानै एक विज्ञप्ति जारी गर्दै इजरेलका रक्षामन्त्री इजरेल क्याट्जले देशमा "विशेष तथा स्थायी सङ्कटकाल"को घोषणा गरिएको जनाएका छन्।इजरेलमा मानिसहरूलाई इरानबाट क्षेप्यास्त्र हमला हुन सक्ने भनेर सावधान गराइएको छ।इजरेलभरि हवाई हमलाबारे सावधानी अपनाउन साइरन बजाइएको छ। इरानका सरकारी सञ्चारमाध्यमहरूले राजधानी तेहरानमा कैयन् ठूल्ठूला विस्फोट भएका विवरण दिएका छन्।सो क्षेत्रमा तनाव चुलिँदै गर्दा अनि आसपासका इलाकामा अमेरिकी फौज एकत्रित भइरहेको बेला पछिल्लो आक्रमण भएको छ।तेहरानले उसको परमाणु कार्यक्रम अन्त्य गर्न राजी नभए त्यहाँ आक्रमण गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पले धम्की दिएका थिए।८ महिना नबित्दै दोस्रो आक्रमणगत वर्षको जुनमा इजरेलले अकस्मात् हमला गर्दै त्यहाँको सैन्य तथा परमाणु स्थलहरूमा बमबारी गरेको थियो भने वरिष्ठ सैन्य अधिकारी तथा परमाणु वैज्ञानिकहरूलाई मारिदिएको थियो। प्रतिक्रियास्वरूप इरानले इजरेलतर्फ सयौँ क्षेप्यास्त्र तथा ड्रोनले आक्रमण गरेको थियो।त्यतिबेला अमेरिकाले पनि एक दिन इरानमा हमला गरेको थियो। भूमिगत परमाणु केन्द्रहरूमा उसले बमबारी गरेको थियो र लगत्तै युद्धविरामका निम्ति दबाव दिएको थियो। इजरेल र इरानबीच दशकौँदेखि वैमनस्यता रहँदै आएको छ। मध्येपूर्वभरि इजरेलविरुद्ध सक्रिय कतिपय सशस्त्र समूहहरूलाई इरानले समर्थन गर्दै आएको छ।यसअघि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानको परमाणु कार्यक्रमबारे पछिल्ला वार्ताप्रति आफू खुसी नभएको बताएका थिए। यसअघि इरानमाथि आक्रमणको चेतावनी दिएका ट्रम्पले आक्रमण गर्ने वा नगर्ने बारे आफूले अझै निर्णय भने नलिएको प्रतिक्रिया दिएका थिए।"उनीहरूले हामीलाई चाहिएको कुरा दिन नखोजेबाट म खुसी छैन। त्यसकारण म उत्साहित छैन," बिहीवार जिनिभामा भएको वार्ता कुनै सम्झौतामा नपुगि टुङ्गिएपछि पहिलो पटक प्रतिक्रिया दिँदै ट्रम्पले भनेका थिए। अमेरिकी राष्ट्रपतिले इरानविरुद्ध सैन्य बल प्रयोग गर्ने आफ्नो चाहना नरहेको बताए। तर कहिलेकाहीँ त्यसो "गर्नुपर्ने हुन्छ" उनले थपे।भ्रमणमा नजान पश्चिमा देशहरूको सुझावइरानमाथि अमेरिकी आक्रमण हुन सक्ने सम्भावनाको चिन्ताबीच शुक्रवार मात्रै धेरै देशहरूले त्यस क्षेत्रमा रहेका आफ्ना नागरिकहरूलाई सजग रहन भनेका थिए। यूकेले तेहरानस्थित आफ्नो दूतावासबाट कर्मचारीहरूलाई केही समयमा लागि शुक्रवारै फिर्ता बोलाएको थियो।यूकेले इजरेलका लागि नयाँ ट्राभल एड्भाइजरी जारी गर्दै "अति आवश्यक बाहेक यात्रा नगर्न" भनेको छ।चीन, भारत र क्यानडा लगायतका देशहरूले भिडन्तको सम्भावनालाई मध्यनजर गर्दै आफ्ना नागरिकहरूलाई सकेसम्म चाँडो इरान छोड्न आग्रह गरेका छन्।जर्मनीले इजरेल भ्रमण नगर्न "अति जरुरी" सूचना जारी गरेको छ। फ्रान्सले पनि इजरेल नजान आफ्नो सुझाव दोहोर्‍याएको छ। संयुक्त राज्य अमेरिकाले इरानमा रहेका आफ्ना नागरिकहरूलाई "तत्काल" बाहिर जान भनेको छ। र इजरेलमा पनि अमेरिकी दूतावासले आकस्मिक बाहेकका कर्मचारी र उनीहरूका परिवारलाई उडानहरू उपलब्ध भएसम्म देश बाहिर जान भनेको छ। सन् २००३ मा अमेरिकाको नेतृत्वमा इराकमाथि भएको आक्रमणयता मध्यपूर्वमा सबैभन्दा ठूलो सामर्थ्यमा अमेरिकी सैनिक इरान वरपर जम्मा भएका छन्।इरानले कुनै पनि आक्रमणको कडा जवाफ दिने चेतावनी दिएका कारण इजरेलले इरानमाथि आक्रमण गरेसँगै मध्यपूर्व क्षेत्रभरि त्रास फैलने आशङ्काहरू गरिएका छन्। (बीबीसी)