गोरखा, प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा गोरखाबाट नेपाली कांग्रेसका उम्मेदवारलाई सघाउने निर्णय गरेको छ।पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई आबद्ध प्रलोपाले गोरखाका दुवै निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फ कांग्रेसका उम्मेदवारलाई समर्थन गर्ने जनाएको हो। कांग्रेसबाट गोरखा–१ मा प्रेमकुमार खत्री र गोरखा–२ मा प्रकाशचन्द्र दवाडी उम्मेदवार छन्। प्रलोपाले ती दुवै उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको पार्टीका जिल्ला नेतृत्वले जनाएको छ। समानुपातिकतर्फ भने प्रलोपाले आफ्नै ‘आँखा’ चुनाव चिह्नमा मतदान गर्ने निर्णय गरेको छ।यता प्रलोपाका अध्यक्ष परिषद् सदस्य सुदन किरातीले निर्वाचन समर्थनबारे केन्द्रबाट अनिवार्य निर्णय हुन नपर्ने स्पष्ट पारे। “जिल्ला र क्षेत्रमा आवश्यकता अनुसार निर्णय गर्नू भनेका छौं। सोहीअनुसार भएको होला,” उनले प्रतिक्रिया दिए। गोरखामा हुने प्रतिनिधिसभा निर्वाचनलाई विभिन्न दलहरूबीचको समीकरण र सहकार्यका कारण चासोपूर्वक हेरिएको छ।