भक्तपुर , राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई प्रहरीले आइतबार बिहान पुनः पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले उनलाई बिहान निवासबाटै नियन्त्रणमा लिएको हो। पारिवारिक स्रोतका अनुसार बिहान करिब ६ बजेदेखि नै प्रहरी टोली भक्तपुरस्थित निवास वरिपरि तैनाथ थियो। करिब पौने ८ बजेतिर पक्राउ पुर्जी थमाएर उनलाई लगिएको बताइएको छ। पक्राउ पुर्जीमा ‘सार्वजनिक शान्ति विरुद्धको मुद्दाको अनुसन्धानका लागि’ भन्ने व्यहोरा उल्लेख गरिएको छ। हाल प्रसाईंलाई जिल्ला प्रहरी परिसर भक्तपुरमा राखिएको छ।
यसअघि प्रसाईं ४ फागुनमा काठमाडौंबाट पक्राउ परेका थिए। उनी १३ फागुनमा रिहा भएका थिए। गैरकानुनी रूपमा हिरासतमा राखिएको दाबी गर्दै उनकी श्रीमतीले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतले थुनामुक्त गर्न आदेश दिएको थियो। न्यायाधीशद्वय मनोजकुमार शर्मा र मेघराज पोखरेलको इजलासले उक्त आदेश जारी गरेको थियो।प्रसाईंको पछिल्लो पक्राउबारे प्रहरी स्रोतले अनुसन्धान जारी रहेको जनाएको छ। घटनाबारे थप विवरण आउन बाँकी रहेको छ।