काठमाडौं । अमेरिका र इजरायलले शनिबारदेखि सुरु गरेको इरानविरुद्धको आक्रमणले विश्वव्यापी प्रभाव देखिने भएको छ । आणविक हतियार विकास रोक्न वार्ता भइरहेकै बेला अमेरिका र इजरायलले शर्त नमानेको निहुँ झिकेर शनिबार बिहानैदेखि इरानको तेहरानलगायतका विभिन्न सहरका सैन्य अखडालक्षित आक्रमण गरेका हुन् ।
इरानले पनि त्यसको जवाफस्वरुप मध्यपूर्वी देशहरु यूएई, कतार, बहरेन, इराक, कुवेतलगायतका देशमा रहेका अमेरिकी सैन्य शिविरहरुमा क्षेप्यास्त्र प्रत्याक्रमण गरिरहेको छ । योसँगै प्रथमतः विश्वमा कच्चा तेलको आपूर्ति शृंखला प्रभावित हुन सक्नेछ । यसले आपूर्तिमा प्रभाव पर्दा विश्वबजारमा इन्धनको रुपमा प्रयोग हुने तेलको मूल्य बढ्न सक्ने देखिएको छ ।
युद्धको प्रभावस्वरुप तेल आपूर्तिको व्यस्त समुद्री मार्ग ‘स्ट्रेट अफ हर्मुज’मा अवरोध सिर्जना हुने देखिन्छ । यो कतार, इरान, यूएई र ओमानको समुद्री क्षेत्र हो । यही मार्ग हुँदै विश्वमा खपत हुने धेरै कच्चा तेलको आपूर्ति हुने गरेको छ । युद्धले यो मार्ग प्रभावित हुने निश्चित छ । किनभने इरानले यूएई, कतारलगायतका देशमा पनि प्रत्याक्रमण गरेको छ । योसँगै मध्यपूर्वको आकाश मार्ग बन्द भइसकेको छ भने अब समुद्री मार्गमा पनि अवरोध सिर्जना भएको छ । यो युद्ध आजको भोलि नरोकिने स्थिति सिर्जना भएका कारण अब कच्चा तेलको मूल्य बढ्ने निश्चित छ ।
सीएनएनका अनुसार शनिबार रातिसम्ममै वेस्ट टेक्सास इन्टरमिडियेट (डब्लूटीआई) को मूल्य प्रतिब्यारेल ०.४० प्रतिशतले बढेर ६७.२९ अमेरिकी डलर पुगेको छ । त्यस्तै विश्वमा सर्वाधिक खरिदबिक्री हुने ब्रेन्ट क्रुड आयल पनि ०.४८ प्रतिशतले बढेर ७२.६४ अमेरिकी डलर पुगेको छ । युद्ध लम्बिँदा र आपूर्तिमा अवरोध सिर्जना हुँदा तेलको मूल्यवृद्धिले निरन्तरता पाउनेछ ।
नेपालमा भने तत्काल नबढ्ने देखिएको छ । भारतबाट शनिबार नै इन्धनको मूल्य बढेर आएको थियो । तर मूल्य समायोजन हुने हुँदा कम्तीमा १५ दिन नबढ्ने देखिएको छ । भारतीय आयल कर्पोरेसनले शनिबार पठाएको नयाँ खरिद मूल्यअनुसार पेट्रोल प्रतिलिटर २.०९ रुपैयाँ बढेको छ भने डिजेल २.४७ र एलपी ग्यासमा प्रतिसिलिन्डर १८.५८ रुपैयाँ बढ्नुपर्थ्यो तर नेपाल आयल निगमले भने नबढाउने निर्णय लिएको छ । यद्यपि अर्को १५ दिनमा विश्वको राजनीतिक माहोलले नेपालमा पनि मूल्य प्रभावित हुन सक्नेछ ।
सुन र चाँदी
इरान युद्धको सम्भावित असरमा सुनलाई पनि लिइएको छ । सुनको युद्ध र अशान्ति छाउँदा लगानीकर्ताहरुले सुरक्षित क्षेत्र खोज्छन् । यस्तोमा सुनमा लगानी बढ्नेछ । यसो हुँदा माग बढ्ने भई मूल्य पनि बढ्नेछ । शनिबार नै विश्वमा प्रतिऔँस सुनको मूल्य ५ हजार २ सय ९६ अमेरिकी डलर ५० सेन्ट पुगिसकेको छ । शनिबार मात्रै ०.९३ प्रतिशतले सुनको मूल्य बढेको एजेन्सीहरुले उल्लेख गरेका छन् । सुनसँगै चाँदीको मूल्य समेत १.१७ प्रतिशतले बढेर ९४.३९ अमेरिकी डलर प्रतिऔँसमा कारोबार भइरहेको छ ।
विश्वबजारमा अशान्तिका बाछिटाका कारण यसअघि नै सुनको मूल्य बढिरहेको थियो । यस्तोमा झनै बढ्ने देखिएको छ । नेपालमा पनि अन्तर्राष्ट्रिय बजारको असर देखिने हुँदा सुन अझै आकाशिन सक्नेछ । शनिबार नेपालमा सुन प्रतितोला ३ लाख १४ हजार ९ सय रुपैयाँ र चाँदी ५ हजार ७ सय ४० रुपैयाँमा कारोबार भएको थियो । तर अब सुन र चाँदी दुवै नेपालमा पनि महंगिने देखिएको छ ।
क्रिप्टो
त्यसो विश्वमा अशान्ति छाउँदा सबै वस्तुको मूल्यवृद्धि हुँदैन । सेयर, क्रिप्टोकरेन्सीलगायत बढ्दैनन् । शनिबार नास्डाक क्रिप्टो इन्डेक्स १०२.६७ डलरले घटेको छ । यसैगरी बिटक्वाइन ७२६ डलरले ओर्लिँदा एथर २७.३२, लाइटक्वाइन १.६४, एक्सआरपी ०.०३ डलरले घटेको एजेन्सीहरुले उल्लेख गरेका छन् ।
विनिमय दर
यता अमेरिकी नेतृत्वमा भएको आक्रमणसँगै अमेरिकी डलर, बेलायतको पाउन्ड स्टर्लिङ, युरोपेली संघको युरोको मूल्य आकाशिएको छ । युरो र डलरबीच १.१८०६ दर रहे पनि आगामी दिनमा यो बढ्ने देखिएको छ । त्यसैगरी पाउन्ड र डलरबीच रहेको १.३४८६ दर समेत युद्धकै कारण बढ्न सक्ने देखिएको छ । यसो हुँदा नेपालमा पनि यसको असर पर्नेछ ।
शनिबार नेपालमा १ अमेरिकी डलरको बिक्री मूल्य १४५.८७ रुपैयाँ र खरिद मूल्य १४५.२७ रुपैयाँ रहेको थियो । त्यसैगरी युरो १ को खरिद दर १७१.४७ र बिक्री दर १७२.१८ रुपैयाँ तथा पाउन्ड १ को १९५.८२ र १९६.६३ रहेको थियो ।
सेयरबजार
शान्तिपूर्ण अवस्थामा चलखेल हुने बजारका रुपमा सेयरबजारलाई लिइने भएकाले असुरक्षित वातावरणले सेयरबजारमा नकारात्मक प्रभाव पर्ने विज्ञहरु बताउँछन् । सोही कारण इरान युद्धले विश्व सेयरबजारमा नकारात्मक प्रभाव पर्ने देखिएको छ । युद्धअघि नै अमेरिकी डो १.०५ प्रतिशत र एसएन्डपी ५०० ०.४३ प्रतिशतले घटिसकेको छ भने नास्डाक ०.९२ प्रतिशतले ओर्लिएको छ ।
यसबाहेक क्यानाडा, जर्मनी, इटली, फ्रान्स, चीन, दक्षिण कोरिया र भारतका सेयरबजारमा निराशा छाइसकेको छ । लगानीकर्ताहरुले सुरक्षित क्षेत्र खोज्दा सेयरबजारमा गिरावट छाएको छ । लामो समय युद्ध हुने संकेतका कारण विश्व सेयरबजारमा पनि केही समय निराशा छाउने तथ्यांकले देखाएको छ ।
नेपालबाट उडान रद्द, नेपाली असुरक्षित
इरान युद्धका कारण त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट विभिन्न सातवटा अन्तर्राष्ट्रिय विमानस्थलमा हुँदै आएका अन्तर्राष्ट्रिय उडान रद्द भएको विमानस्थल कार्यालयले जनाएको छ । सारजहा, दोहा, दुबई, कुवेत सिटी, आबुधाबी, कतार तथा दमामलगायत विमानस्थलमा हवाई उडानमा प्रतिबन्ध लगाइएका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शनिबार दिउँसो र रातिका सबै उडान रद्द गरिएका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक टेकनाथ सिटौलाका अनुसार सम्बन्धित हवाई उडानमा प्रतिबन्ध लगाइएका कारण यहाँबाट हुने उडानमा पनि रोक लगाइएको हो । उनले भने, ‘सारजहा, दोहा, दुबै, कुबेतसिटी, आबुधाबी, कतार र कतार विमानस्थलमा हवाई उडानमा प्रतिबन्ध लगाइएकाले नेपालबाट दिउँसो र राति हुने सबै उडान रद्द गरिएका छन् । उडानहरु कहिले खुल्छन् भन्नेबारे अर्को निर्णय भएपछि जानकारी गराइने छ ।’
यसैगरी, यात्रुलाई आफ्नो उडानका लागि विमानस्थल जानुभन्दा अगाडि सम्बन्धित वायुसेवा कम्पनीमा सम्पर्क गरेर मात्र जान विमानस्थल कार्यालयले आग्रह गरेको छ ।
यसैबीच, नेपाल वायुसेवा निगम र हिमालय एयरलायन्सले पनि आआफ्ना उडान दुई दिनका लागि रद्द गरेका छन् । निगमले कतारको राजधानी दोहा र यूएईको दुबईका उडान अर्को सूचना नभएसम्मका लागि रद्द गरेको छ भने हिमालय एयरलाइन्सले दोहा, दुबई र दमाममा हुने उडान अर्को सूचना जारी नभएसम्म स्थगित गरिएको जनाएको छ ।
अमेरिका र इजरायलले शनिबार बिहानैदेखि इरानमा आक्रमण थालेपछि मध्यपूर्वमा तनाव बढेको छ । यस क्षेत्रको हवाइ मार्ग नै बन्द रहेको छ ।
यसैबीच, इरानमा भएको आक्रमण र त्यसपछि इरानले गरेको प्रत्याक्रमणका कारण मध्यपूर्वमा रोजगारीका लागि गएका नेपाली पनि असुरक्षित भएका छन् । राति अबेरसम्म पनि दुवै पक्षबाट आक्रमण र प्रत्याक्रमण भइरहेका छन् । सोही कारण सम्बन्धित देशका नेपाली राजदूतावासहरुले सुरक्षित रहन नेपालीहरुलाई अपिल गरेका छन् । कतार, यूएई, साउदी अरेबियालगायतका खाडी देशमा लाखौँ संख्यामा नेपाली रहेका छन् ।