काठमाडौं । संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटीयूसीसी) ले आगामी फागुन २१ गते हुने निर्वाचनमा श्रमिकहरूले मतदान गर्न पाउने वातावरण निर्माण गर्न आग्रह गरेको छ ।
निर्वाचनका सन्दर्भमा सरकारले तीन दिन सार्वजनिक बिदा दिने निर्णयलाई स्वागत गर्दै जेटीयूसीसीले उक्त निर्णयलाई सबैले पालना गर्नुपर्नेमा जोड दिएको छ । जेटीयूसीसीका महासचिव नवराज दाहालले एक विज्ञेप्ती जारी गरी श्रमिक तथा कर्मचारीलाई निर्धक्क, स्वतन्त्र र विना कुनै दबाब मतदानमा सहभागी हुने वातावरण सुनिश्चित गर्नु सबै सरोकारवालाको साझा दायित्व भएको उल्लेख गरेका छन् । जेटीयूसीसीले देशभरका निजी प्रतिष्ठान, उद्योग, कलकारखाना, बैंक तथा वित्तीय संस्था, सेवा क्षेत्र, यातायात, निर्माण क्षेत्र तथा अनौपचारिक क्षेत्रलगायत सबै रोजगारदातालाई सरकारले घोषणा गरेको सार्वजनिक विदा पूर्ण रूपमा कार्यान्वयन गर्न आग्रह गरेको छ ।
लोकतन्त्रको आधार जनताको मत हो र श्रमिक वर्ग यसको महत्वपूर्ण हिस्सेदार हो । विज्ञप्तिमा भनिएको छ, ‘कुनै पनि श्रमिकलाई काममा उपस्थित हुन बाध्य नपारियोस् र मतदानमा सहभागी भएको कारण कसैलाई पनि कुनै प्रकारको दबाब, भेदभाव वा कारबाहीको सामना गर्न नपरोस् ।’ जेटीयूसीसीले लोकतन्त्र सुदृढीकरणका लागि समान र सक्रिय सहभागिता अपरिहार्य रहेको उल्लेख गर्दै सम्पूर्ण श्रमिक, कर्मचारी तथा आम नागरिकलाई जिम्मेवार, शान्तिपूर्ण र सचेत रूपमा निर्वाचनमा सहभागी हुन आह्वान गरेको छ ।