इरान । इजरायल र अमेरिकाले शनिबार इरानमा आक्रमण गरेका छन् । दिनैभर इरानमा आक्रमण भएको एजेन्सीहरुको भनाइ छ । यो आक्रमण सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको कार्यालय नजिकै केन्द्रित भएको जनाइएको छ ।
८६ वर्षीय खामेनी आक्रमणका बेला कार्यालयभित्र भए/नभएको स्पष्ट हुन सकेको छैन । अमेरिकासँगको बढ्दो तनावका कारण उनी केही दिनयता सार्वजनिकरूपमा देखिएका थिएनन् । यसैबीच, अमेरिकाले इरानलाई आणविक कार्यक्रमबारे सम्झौतामा ल्याउन दबाब बढाउँदै यस क्षेत्रमा पछिल्लो समय लडाकू जेट र युद्धपोत तैनाथ गरेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इरानको आणविक कार्यक्रम नियन्त्रणमा ल्याउने उद्देश्यले सम्झौता चाहन्थे । इरान भने युरेनियम संवद्र्धन गर्ने आफ्नो अधिकार कायम राख्न चाहन्छ र लामो दूरीका क्षेप्यास्त्र कार्यक्रम वा हमास तथा हिजबुल्लाहजस्ता सशस्त्र समूहलाई समर्थनबारे वार्ता गर्न इच्छुक देखिएको छैन । देशभित्र बढ्दो असन्तोष र विरोधबीच इरान युद्धबाट बच्न चाहिरहेको संकेत दिइरहेको छ ।
आफूमाथि आक्रमण भएपछि इरानले पनि मध्यपूर्वका अमेरिकी हवाइ अड्डाहरुमा प्रत्याक्रमण गरेको छ । कतार, यूएई, बहरेन, कुवेतमा रहेका अमेरिकी सैन्य अखडाहरुमा इरानले शनिबार लगातार क्षेप्यास्त्र हानेको एजेन्सीहरुले जनाएका छन् । तेहरानका प्रत्यक्षदर्शीहरूले खामेनीको कार्यालय आसपास पहिलो विस्फोटको आवाज शनिबार बिहानै सुनेका थिए ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध ठूलो सैन्य अभियान थालिएको घोषणा गरेका छन् । योसँगै इरानविरुद्ध इजरायल र अमेरिकी आक्रमणले आगामी दिनमा समेत निरन्तरता पाउने देखिएको छ । शनिबार साँझसम्म इरानमा आक्रमणबाट कम्तीमा पनि ५१ जनाको मृत्यु भएको इरानी मिडियाहरुले उल्लेख गरेका छन् ।