काठमाडौं । संयुक्त राज्य अमेरिका र इजरायलले शनिबार इरानमाथि आक्रमण गरेपछि विश्वभरका देशहरूले मध्यपूर्वमा तनाव बढ्ने चिन्त व्यक्त गरेका छन् । संयुक्त राष्ट्रसंघका मानवअधिकार प्रमुखले अमेरिका–इजरायल आक्रमण र इरानको प्रतिक्रियाको निन्दा गरेका छन् । उनले थप आक्रमणले ‘मृत्यु, विनाश र मानवीय दुःख’ मात्र निम्त्याउने चेतावनी दिँदै संयम अपनाउन सम्बन्धित पक्षसँग आग्रह गरेका छन् ।
‘म संयम अपनाउन आह्वान गर्दछु र सबै पक्षहरूलाई विवेकको प्रयोग गर्न अनुरोध गर्दछु’, संयुक्त राष्ट्रसंघका मानवअधिकार प्रमुखल भोल्कर टर्कले एक विज्ञप्ति जारी गरी भनेका छन् । रुसले अमेरिका र इजरायलले इरानमाथि गरेको आक्रमणको आलोचना गरेको छ र आक्रमणले यस क्षेत्रलाई मानवीय, आर्थिक र यसलाई अस्वीकार गर्न नसकिने रेडियोलोजिकल विपत्तिको संघारमा पुर्याएको तर्क गरेको छ ।
चीनले ’सैन्य कारबाही तत्काल रोक्न’ आग्रह गरेको छ र चिनियाँ विदेश मन्त्रालयले इरानको राष्ट्रिय सार्वभौमिकता, सुरक्षा र क्षेत्रीय अखण्डताको सम्मान गर्नुपर्नेमा जोड दिएको छ । अमेरिकी सैन्य अखडाको आश्रय रहेको कतारले आफ्नो भूमिमा इरानी क्षेप्यास्त्र आक्रमणको निन्दा गरेको छ र चेतावनी दिएको छ । ‘यस आक्रमणको जवाफ दिने उसको पूर्ण अधिकार सुरक्षित छ’, कतारले भनेको छ ।
युरोपेली संघ (ईयू) की प्रमुख उर्सुला भोन डेर लेयनले अमेरिकाले इरानका आणविक क्षेत्रहरू ‘निशाना’ रहेको संकेत गरेपछि आणविक सुरक्षा सुनिश्चित गर्नु ‘महत्वपूर्ण’ भएको बताएकी छिन् । नर्वेका विदेशमन्त्रीले इरानमाथि इजरायलको आक्रमणले अन्तर्राष्ट्रिय कानुन उल्लंघन गरेको तर्क गर्दै पूर्वयोजनामा भएको आक्रमणले अनपेक्षित खतरा निम्त्याएको बताएका छन् ।
भारतको विदेश मन्त्रालयले सबै राज्यहरूको सार्वभौमिकता र क्षेत्रीय अखण्डताको सम्मान गरिनुपर्नेमा जोड दिँदै वार्ता र कूटनीतिलाई पछ्याउनुपर्ने बताएको छ । बेलायत, फ्रान्स र जर्मनीले संयुक्तरूपमा इरानको जवाफी आक्रमणको निन्दा गरेका छन् भने बेलायत सरकारले पनि स्थिति ‘व्यापक क्षेत्रीय द्वन्द्व’मा परिणत हुन सक्ने चिन्ता व्यक्त गरेको छ । ती देशहरूले उनीहरूमध्ये कसैले पनि अमेरिका–इजरायल कारबाहीमा भने भाग लिएका थिएनन् ।
फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले ‘खतरनाक’ तनाव रोक्न आग्रह गर्दै संयुक्त राष्ट्र संघ सुरक्षा परिषद्को तत्काल बैठक बोलाएका छन् । लेबनानका प्रधानमन्त्री नवाफ सलामले आफ्नो देशलाई युद्धमा नतान्ने बताएका छन् । इरानका अन्तिम राजाका छोरा तथा तेहरानको वर्तमान् सत्ताका प्रखर आलोचक रेजा पहलवीले आक्रमणपछि अन्तिम जित नजिक रहेको दाबी गरेका छन् । ‘हामी सबै मिलेर इरानलाई फिर्ता लिन र पुनर्निर्माण गर्न सक्छौँ, अमेरिकामा निर्वासित जीवन बिताइरहेका पहलवीले भने ।
इजिप्टको विदेश मन्त्रालयले अरब राष्ट्रहरूको एकता र क्षेत्रीय अखण्डताको सुनिश्चितताका लागि जोड दिएको छ । ‘इजिप्टले अरब राष्ट्रहरूको एकता र क्षेत्रीय अखण्डतालाई लक्षित गर्ने इरानको कडा निन्दा गर्दछ ।’
टर्कीको विदेश मन्त्रालयले द्वन्द्वले ‘यस क्षेत्रको भविष्य र विश्वव्यापी स्थिरतालाई खतरामा पारेको’ भन्दै ‘सबै पक्षलाई तुरुन्त शत्रुता रोक्न’ आग्रह गरेको छ । जोर्डनको सरकारले तनाव कम गर्न आग्रह गरेको छ र चेतावनी दिएको छ कि यसले ‘आफ्नो सबै शक्तिका साथ’ राज्यको हितको रक्षा गर्नेछ । एक सरकारी प्रवक्ताले देश द्वन्द्वको हिस्सा नभएको बताएका छन् ।
प्यालेस्टिनी लडाकू समूह र इरानको सहयोगी हमासले तेहरानमाथि अमेरिका र इजरायलको ‘आक्रमण’को निन्दा गरेको छ र यसलाई ‘सम्पूर्ण क्षेत्रमा प्रत्यक्ष आक्रमण’ भनेको छ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले इरानमाथि भएको आक्रमणले इरानी जनताका लागि तेहरानमा रहेको ‘आतंकवादी शासन’लाई सत्ताच्युत गर्ने अवसर सिर्जना गरेको बताएका छन् ।
‘इन्टरनेसनल कमिटी अफ द रेडक्रस’ की अध्यक्ष मिर्जाना स्पोलजारिकले मध्यपूर्वमा सैन्य वृद्धिले यस क्षेत्रमा खतरनाक श्रृङ्खलावद्ध प्रतिक्रिया निम्त्याएको र सर्वसाधारणका लागि विनाशकारी परिणाम हुने चेतावनी दिएका छन् । आक्रमणपछि अफ्रिकी संघले ‘संयम, तत्काल तनाव कम गर्न र निरन्तर संवाद’ गर्न आह्वान गरेको छ र द्वन्द्वले महादेशका मानिसहरूलाई हानि पुर्याउने खतरा रहेको चेतावनी दिएको छ ।