काठमाडौं । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व सोमबार हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइएको छ । सोमबार काठमाडौँको वसन्तपुर, पाटन, भक्तपुर, बनेपा तथा पहाडी र हिमाली क्षेत्रमा विशेष कार्यक्रमका बीच होली मनाइएको हो ।
वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाइने गरिन्छ । सत्यको विजय र असत्यको नाश भएको उत्सवका रूपमा होली पर्व मनाइने गरिएको आम विश्वास छ । तराईका जिल्लामा भने मंगलबार होली मनाइने भएको छ । निर्वाचनको पूर्वसन्ध्यामा होली परेकोले विगतमा भन्दा यसवर्षको होलीमा भने चहलपहल कम देखिएको छ । यस्तै शान्तिपूर्ण रुपमा होली सम्पन्न भएको प्रहरीले जनाएको छ । तराईका जिल्लामा भने निर्वाचनको लागी मौन अवधि परेकोले घरमा नै सामान्य तरिकाले होली बनाउन सरकारले आग्रह गरेको छ ।