काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचन प्रचारप्रसार निषेध अवधि (मौन अवधि)को सुरक्षा व्यवस्था चुस्त बनाइएको बताएका छन् ।
प्रतिनिधिसभा सदस्य निर्वाचनको समग्र तयारी, सुरक्षा व्यवस्था, आचारसंहिताको परिपालना र कार्यान्वयनबारे सोमबार आयोगमा भएको छलफलमा उनले निर्वाचन सुरक्षालाई भरपर्दो र प्रभावकारी बनाएको बताए । मन्त्री अर्यालले निर्वाचनको प्रभावकारी सुरक्षा व्यवस्थापनका लागि सबै सुरक्षा संयन्त्र र सरोकारवाला निकायबीचको समन्वय भइरहेकाले भयरहित वातावरणमा निर्वाचन हुने हुँदा ढुक्क भएर मतदान गर्न सकिने व्यवस्था गरिएको जानकारी दिए । बिहीबार हुने निर्वाचनको लागि सोमबार राती १२ बजेदेखि मौन अवधि सुरु भएको छ । निर्वाचन कार्यतालिकाअनुसार फागुन २१ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुँदैछ ।
निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मौन अवधिमा आचारसंहिताको परिपालना गराउन सूक्ष्मरुपमा अनुगमन हुने जानकारी दिए । आचारसंहिताको परिपालनालाई प्राथमिकतामा राखिएको र उल्लङ्घनकर्तालाई कानुनअनुसार कारबाही हुने उनको भनाइ छ । छलफलका क्रममा गृहमन्त्री अर्यालसमक्ष निर्वाचनको सम्पूर्ण तयारीबारे जानकारी गराइएको थियो । मतदानपछिको मतपेटिका ढुवानीलगायतमा आयोगले मिलाएको प्रबन्धबारे पनि जानकारी गराइएको थियो । गृहमन्त्री अर्याल तथा कार्यवाहक प्रमुख भण्डारीसमेतले यसअघि सुरक्षाका दृष्टिकोणले अति संवेदनशील तथा संवेदनशील मानिएका निर्वाचन केन्द्रहरूको समेत अनुगमन गरेका थिए । समग्र शान्ति सुरक्षाको अवस्थाका विषयमा आयोगले नियमित रूपमा सम्बन्धित निकायहरूबाट जानकारी लिइरहेको जनाएको छ ।
छलफलमा निर्वाचन आयुक्त डा. जानकीकुमारी तुलाधर, आयोगका सचिव कृष्णबहादुर राउत, मन्त्रालयका सचिव राजकुमार श्रेष्ठ, प्रधानमन्त्री सुशीला कार्कीका मुख्य सल्लाहकार अजयभद्र खनाललगायतका पदाधिकारीहरूको उपस्थिति थियो ।