काठमाडौं । बिहीबार हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि सोमबार राती १२ बजेदेखि मौन अवधि सुरु भएको छ । मौन अवधि सुरु भएसँगै निर्वाचन प्रचारप्रसारमा पनि निषेध गरिएको निर्वाचन आयोगले जनाएको छ ।
आयोगका अनुसार मतदान हुने दिनको अघिल्लो ४८ घण्टा अघिदेखि मतदानको दिन मतदान सम्पन्न भई मतदान केन्द्र बन्द नहुन्जेलसम्म आयोगबाट प्रचारप्रसार निषेध अवधि तोकिको छ । सोही अनुरुप सोमबार राति १२ बजेपछि निर्वाचनका प्रचारप्रसार गरी मत माग्न नपाइने आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिए । प्रचारप्रसार निषेध अवधिमा उम्मेदवार, राजनीतिक दल तथा सम्बन्धित व्यक्तिले पालना गर्नुपर्ने विशेष आचरण निर्वाचन आचारसंहिता, २०८२ मा उल्लेख छ । आयोगले फागुन ४ गतेदेखि १८ गते साँझ ७ बजेसम्म राजनीतिक दलले निर्वाचनका लागि प्रचारप्रसार गरी मत माग्न समय तोकिएको थियो । त्यसपछि मतदाताले आफ्नो विवेकको निर्णय आफ्नै अन्तरात्माले स्वतन्त्रतापूर्वक गर्ने अवसरका निम्ति शान्ति वा निषेध अवधि अनिवार्य हुने र यसले स्वच्छ प्रतिस्पर्धालाई प्रवद्र्धन गर्न मद्दत पु¥याउने आयोगले जनाएको छ ।
राजनितिक दलले मौन अवधिमा कुनै प्रचारप्रसार गरी मत माग्न पाइँदैन । यस अवधिमा राजनीतिक विज्ञापन, सामाजिक सञ्जालमा प्रचारप्रसार, कुनै किसिमको सन्देश सम्प्रेषणलगायत निर्वाचन प्रचारसँग सम्बन्धित कार्य गर्न निषेध गरिएको छ । मतदान हुने दिनको ४८ घण्टाअघि अर्थात् आज राति १२ बजे मतदानस्थलको ३०० मिटर वरिपरि राखिएका राजनीतिक दल वा उम्मेदवारका प्रचारप्रसार सामग्री हटाउनुपर्ने व्यवस्था पनि गरिएको छ । यसैगरी सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै पनि विद्युतीय माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना वा प्रचारप्रसार सामग्री पोस्ट वा सेयर गर्न वा गराउन निषेध गरिएको छ । मतदान कार्य प्रारम्भ हुनुभन्दा तीन घण्टा अघिदेखि मतदान कार्य समाप्त नभएसम्म कसैले पनि मतदाता वा मतदान केन्द्रमा मतदानको काममा संलग्न व्यक्ति वा कर्मचारीलाई बाधा पुर्याउने कार्य गर्न नहुने पनि निर्वाचन आचारसंहिता, २०८२ मा उल्लेख छ ।
आचारसंहिताको इमान्दारीपूर्वक पालना र कार्यान्वयनले सजग मतदाता तयार पार्न र निर्वाचनको निष्ठा प्रवर्द्धन गर्न सहयोग पुग्ने आयोगको विश्वास छ । संविधानले प्रदान गरेको अधिकारअनुसार निर्वाचनको सञ्चालन, रेखदेख, निर्देशन, नियन्त्रण, समन्वय तथा सम्पूर्ण व्यवस्थापनका लागि आवश्यक सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको आयोगले जनाएको छ ।