काठमाडौं । नेपाली कस्मेटिक तथा पर्सनल केयर ब्रान्ड ‘लाली’ले दरबारमार्गस्थित ‘द पार्क’मा आफ्नो पहिलो फ्ल्यागसिप स्टोर सञ्चालनमा ल्याएको छ ।
कम्पनीले हालै एक समारोहकाबीच उक्त स्टोर सञ्चालनमा ल्याएको हो । स्थानीय स्रोतसाधनको प्रयोग गरी उत्पादन गरिएका उच्च गुणस्तरीय नेपाली सौन्दर्य सामग्रीलाई विश्वबजारसम्म पुर्याउने लक्ष्यका साथ लालीले आफ्नो रिटेल स्पेस विस्तार गरेको जनाएको छ । ‘टच अफ नेपाल’ भन्ने नाराका साथ स्थापित कम्पनीले परम्परागत हिमाली ज्ञान र आधुनिक कस्मेटिक मापदण्डलाई मिसाएर छाला तथा कपालको हेरचाह गर्ने सामग्रीहरू उत्पादन गर्दै आएको जनाएको छ । विशेषगरी ‘शार्क ट्यांक नेपाल’ मा सहभागी भएपछि यो ब्रान्डले ठूलो चर्चा र लगानी प्राप्त गरेको थियो । लालीको विज्ञ टोलीमा क्याबिनेट श्रेष्ठ, हेमराज ढकाल, सलोनी राजभण्डारी र ब्रान्डको मुख्य अनुहारका रूपमा पूर्व मिस नेपाल प्रियंका रानी जोशी रहेका छन् । ‘यो स्टोर केवल उत्पादन बेच्ने ठाउँ मात्र होइन, यो नेपाली उद्यमशीलताको नयाँ ऊर्जा र शैलीको प्रतीक हो,’ कम्पनीद्धारा विज्ञप्तिमा भनिएको छ । लालीले पूर्णरूपमा प्राकृतिक, अर्गानिक र हस्तनिर्मित कस्मेटिक्स निर्माणमा आफूलाई केन्द्रित गरेको जनाइएको छ ।
स्थानीय सामग्रीको प्रयोगमार्फत प्रिमियम स्किनकेयर उपलब्ध गराउँदै नेपाली विरासतलाई विश्वव्यापी रूपमा प्रवर्द्धन गर्ने यसको मुख्य उद्देश्य रहेको छ । स्वदेशी जडीबुटी र मौलिक कच्चा पदार्थको प्रयोगले गर्दा भीडभाडयुक्त कस्मेटिक बजारमा लालीले आफ्नो छुट्टै र विशिष्ट पहिचान बनाउन सफल भएको कम्पनीको दाबी छ ।