काठमाडौं । सेयर धितो अर्थात् मार्जिन लेन्डिङ शीर्षकमा बैंक तथा फाइनान्स कम्पनीहरूले एक खर्ब ५२ अर्ब रुपैयाँभन्दा बढी कर्जा प्रवाह गरेका छन् । चालू आर्थिक वर्षको पुससम्ममा वाणिज्य बैंक, विकास बैंक र फाइनान्ससहितका ५४ संस्थाले सेयर धितो शीर्षकमा मात्र कुल एक खर्ब ५२ अर्ब ८२ करोड ३० लाख रुपैयाँ कर्जा प्रवाह गरेका हुन् ।
यस अवधिमा बैैंकिङ क्षेत्रको कुल निक्षेप तथा कर्जा प्रवाह रकम भने क्रमशः ७७ खर्ब २३ अर्ब ९९ करोड ५० लाख र ५७ खर्ब ८१ अर्ब ४५ करोड ५० लाख रुपैयाँ रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार बैंकिङ क्षेत्रले सेयर धितोमा प्रवाह गरेको कर्जा गत आवको सोही अवधिको तुलनामा ३९ अर्ब सात करोड ६० लाख रुपैयाँले बढी हो । गत आवको सोही अवधिमा बैंक तथा फाइनान्स कम्पनीहरूले ६७ खर्ब ३७ अर्ब ५८ करोड २० लाख रुपैयाँ निक्षेप संकलन गरी ५४ खर्ब २८ अर्ब ६२ करोड ५० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा सेयर धितोमा मात्र कुल एक खर्ब १३ अर्ब ७७ करोड ७० लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।
चालू आवको पुस मसान्तसम्ममा वाणिज्य बैंकहरूले मात्र कुल ६९ खर्ब ५३ अर्ब ६८ करोड ९० लाख रुपैयाँ निक्षेप संकलन गरी ५१ खर्ब ३९ अर्ब १३ करोड ५० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा सेयर धितोमा मात्र कुल एक खर्ब २९ अर्ब ६८ करोड ४० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । यो कर्जा गत आवको सोही अवधिको तुलनामा ३८ अर्ब १४ करोड २० लाख रुपैयाँले बढी हो । गत आवको सोही अवधिमा वाणिज्य बैंकहरूले ५९ खर्ब ९१ अर्ब सात करोड ८० लाख रुपैयाँ निक्षेप संकलन गरी ४८ खर्ब सात अर्ब ७१ करोड ५० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा सेयर धितोमा मात्र कुल ९१ अर्ब ५४ करोड २० लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।
विकास बैंकहरूले भने चालू आवको पुस मसान्तसम्ममा छ अर्ब ३२ अर्ब ३९ करोड रुपैयाँ निक्षेप संकलन गरी पाँच खर्ब ३६ अर्ब ९५ करोड ४० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा सेयर धितो शीर्षकमा कुल १९ अर्ब ८६ करोड ७० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । यो कर्जा गत आवको सोही अवधिको तुलनामा एक अर्ब ६८ करोड २० लाख रुपैयाँले बढी हो । गत आवको सोही अवधिमा विकास बैंकहरूले छ खर्ब १३ अर्ब ६७ करोड ७० लाख रुपैयाँ निक्षेप संकलन गरी पाँच खर्ब ७७ अर्ब ७४ करोड २० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा सेयर धितोमा मात्र कुल १८ अर्ब १८ करोड ५० लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।
फाइनान्स कम्पनीहरूले पनि चालू आवको पुस मसान्तसम्ममा एक खर्ब ३७ अर्ब ९१ करोड ६० लाख रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब पाँच अर्ब ३६ करोड ६० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा सेयर धितोमा मात्र कुल तीन अर्ब २७ करोड २० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । यो कर्जा गत आवको सोही अवधिको तुलनामा ७७ करोड ८० लाख रुपैयाँले कम हो । गत आवको सोही अवधिमा फाइनान्स कम्पनीहरूले कुल एक खर्ब ३२ अर्ब ८२ करोड ७० लाख रुपैैयाँ निक्षेप संकलन गरी एक खर्ब तीन अर्ब १६ करोड ८० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा सेयर धितोमा मात्र कुल चार अर्ब पाँच करोड रुपैयाँबराबरको कर्जा प्रवाह गरेका थिए ।
नेपालमा बढ्यो सेयरबजार
सेयर बजार परिसूचक नेप्से उकालो लागेको छ । चुनावअघिको अन्तिम कारोबार दिन नेप्से ३८ दशमलव ५२ अंकले बढेको हो ।
योसँगै सेयरबजार २७ सय १२ दशमलव ४९ विन्दुमा छ । मंगलबार तीन सय २९ वटा सेयर ६१ हजार तीन सय २९ पटक कारोबार भए । एक करोड ५१ लाख ८४ हजार छ सय सात कित्ता किनबेच हुँदा यस दिन छ अर्ब २३ करोड ४८ लाख बढीको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।