काठमाडौं । पश्चिम एसियामा द्वन्द्व चर्किँदा विश्वमा कच्चा तेलको मूल्य आकाशिन थालेको छ भने सेयरबजारमा पहिरो गएको छ क। बेलायतमा इन्धनको मूल्यमा ४६ प्रतिशत बढी वृद्धि भएको बीबीसीले जनाएको छ । सोमबार पनि इन्धनको मूल्य बढेको थियो । मंगलबार यसले निरन्तरता पाएको हो । जुन पछिल्लो तीन वर्षयताकै उच्च मूल्यवृद्धि हो ।
मंगलबारसम्म ब्रेन्ट क्रुड तेल प्रतिब्यारेल ८५ अमेरिकी डलर पुगेको छ । अमेरिकामा बिहानी कारोबारमै मंगलबार डो जोन्स इन्डस्ट्रियल इन्डेक्स २ प्रतिशत बढीले घटेको छ । त्यसैगरी एसएन्डपी ५०० र नास्डाकमा पनि उस्तै गिरावट देखिएको छ । उता युरोपमा पनि सेयरबजारको गिरावट उस्तै छ ।
अमेरिका र इजरायलले शनिबार इरानविरुद्ध आक्रमण थालेका थिए । त्यसपछि तेहरानले गरेको प्रत्याक्रमणसँगै लगानीकर्ताहरुले आर्थिक प्रभावको हिसाबकिताब थालेर निर्णय लिन थालेका हुन् । खासगरी युद्धले महंगी र ब्याजदरमा पार्ने प्रभावलाई उनीहरुले बढी ध्यान दिएका छन् । पश्चिम एसिया अस्थिर हुँदा त्यसले विश्व ऊर्जा आपूर्तिमा ठूलो प्रभाव पार्ने गर्छ । युक्रेनमा चार वर्षअघि रुसले गरेको पूर्ण आक्रमणको प्रभाव पनि यस्तै थियो । जसले ऊर्जा–इन्धन खर्चिलो बनाएको थियो भने विश्वका व्यवसाय र उपभोक्तामा मूल्यवृद्धिको चुनौती खडा गरेको थियो ।
विज्ञहरुले विश्व अर्थतन्त्रमा युद्धको खराब प्रभाव पर्ने चेतावनी दिएका छन् । सोमबार अमेरिकामा लगानीकर्ताले पर्ख र हेरको रणनीति लिएका थिए । खासगरी यो संघर्ष छोटो समयका लागि रहेको उनीहरुको निष्कर्ष थियो । तर अहिले तिनै लगानीकर्ता अवस्थाको पुनरध्ययन गरिरहेका छन् । इरानले तेल बोकेका ट्यांकरमै आक्रमण गरेपछि यसलाई उनीहरुले गम्भीर चिन्ता देखाएका छन् । यता, ह्वाइटहाउसको युद्धकाल अनुमान समेत अनिश्चित देखिन्छ ।
‘जति युद्ध भइरहन्छ, यसले तेलको मूल्यमा समस्या पैदा गर्छ’, पालुम्बो वेल्थ मेनेजमेन्टका संस्थापक फिलिप पालुम्बो भन्छन् । यसले सबै अर्थतन्त्रमा खराब प्रभाव पार्न सक्छ । ऊर्जा–इन्धनको लागत बढ्दा ब्याजदरको दिशा परिवर्तन हुनसक्ने देखिन्छ । यसले खासगरी धेरै ऊर्जा खपत हुने एआई उद्योगमा प्रभाव पार्नेछ । म्याक्वायर ग्रुपका थिएरी विजम्यानका अनुसार यो त्यही उद्योग हो जसले सेयरबजार बढाउन मद्दत गरेको थियो ।
लगानीकर्ताहरुले अहिलेको युद्धलाई महंगीको सर्जक मानेको उनको भनाइ छ । मंगलबार बेलायतमा इन्धनको मूल्य १६५ पाउन्ड पुगेको थियो । एक वर्षअघि यो १४५ पाउन्ड थियो । जतिबेला युक्रेन युद्ध सुरु भएको थियो ।
त्यसो त विश्वकै ठूलो ग्यास निर्यातकर्ता कतार इनर्जीले आक्रमण भएको भन्दै मंगलबार उत्पादन रोकिदिएको थियो । कम्पनीले आलुमिनियम, मेथानोल र मलमा प्रयोग हुने युरियाको पनि उत्पादन रोक्ने घोषणा नै गरेको छ । उच्च ग्यास मूल्यले घरपरिवारको ग्यास बिलमा दबाब सिर्जना गर्छ । बढ्दो तेलको मूल्यले गाडीमा प्रयोग हुने इन्धन, यातायात र खाद्यपदार्थलाई थप महंगो बनाउँछ । यदि महंगी बढ्ने क्रमले निरन्तरता पाउँछ भने केन्द्रीय बैंकहरुले पनि आगामी महिनाहरुमा ब्याजदरमा कम कटौती गर्नेछन् ।
विश्वको २० प्रतिशत कच्चा तेल निर्यात हुने हर्मुज घाँटीमा इरानले जहाज आवतजावतमा प्रतिबन्ध लगाएको छ । यसले पेट्रोलियम मूल्यवृद्धिमा सहयोग गर्नेछ । फलतः इन्धन लागत बढ्नेछ । युद्ध नरोकिँदा विश्वबजारले १०० अमेरिकी डलर प्रतिब्यारेल खर्च गर्नुपर्ने सम्भावना बढेको छ । त्यसैगरी सेयरबजारमा भने गिरावटले निरन्तरता पाउनेछ । मंगलबार एसियामा जापानको निक्की ३.३ प्रतिशतले घटेको थियो भने निर्यातमा निर्भर कम्पनीहरु टोयोटा, पानासोनिक र सोनीका सेयरहरु धेरै घटेका थिए । त्यसैगरी हङकङको हाङसेङ र शांघाई कम्पोसिट पनि घटेका थिए । उता, दक्षिण कोरियाको कोस्पी पनि ७ प्रतिशत बढीले घट्न पुगेको थियो । बीबीसीबाट