काठमाडौँ । गत भदौ २४ गतेको तोडफोड, आगजनी र लुटपाटमा संलग्नविरुद्ध काठमाडौं जिल्ला अदालतमा आपराधिक उपद्रव, डाकासम्बन्धी कसुर र हातहतियार खरखजानामा ४६ जनाविरुद्ध मुद्दाहरु दर्ता भएको छ । भदौ २३ गते भएको प्रदर्शनमा १९ जनाको ज्यान गएपछि २४ गतेको प्रदर्शनमा संलग्नहरुले सर्वोच्च अदालत, सिंहरदरबार, काठमाडौं जिल्ला अदालत, राष्ट्रपति निवास, प्रहरी कार्यालयलगायत सरकारी तथा भाटभटेनी, चन्द्रागिरी हिल्स, हिलटन होटललगायत निजी सम्पत्तिमाथि आगजनी र लुटपाट गरेका थिए ।
काठमाडौं जिल्ला अदालत स्रोतका अनुसार मंगलबार मात्र १० वटा मुद्दा दर्ता भएको छ । प्रहरी कार्यालयहरु, सर्वोच्च अदालतसहित सार्वजनिक सम्पत्तिमा आगजनी र लुटपाट गर्ने सातवटा र व्यक्तिगत सम्पत्ति तोडफोडतर्फका तीनवटा मुद्दा दर्ता भएका हुन् ।
नेपालमा व्यवस्था परिवर्तनका लागि भएका विगतका प्रदर्शनमा समेत देशको प्रमुख प्रशासनिक निकाय सिंहदबार र सार्वेच्चलगायतका अदालतहरुमा आगजनी भएको थिएन । मुद्दा दर्ता भएपछि पक्राउ परेकाहरुको हकमा थुनछेक र पक्राउ नपरेकाहरुका बारेमा अदालतले प्रहरीमार्फत पक्राउ पुर्जी जारी गर्नेछ । अब अदालतले नियमित प्रक्रिया अन्तर्गत आफैं उपस्थित भएकाहरु र पक्राउ परेकाहरुको बारेमा थुनछेक बहस सुरु गर्नेछ । फरार रहेकाहरुलाई अदालतको आदेश अनुसार प्रहरीले पक्राउ गर्नुपर्ने छ । जति फरार भए पनि अदालतले कानुनी प्रक्रिया अनुसार मुद्दा अगाडि बढाउनैपर्ने छ ।