काठमाडौं । तराईका जिल्लामा रङहरूको पर्व होली मंगलबार हर्षोल्लासपूर्वक मनाइएको छ । हिमाली एवं पहाडी जिल्लामा फागु पूर्णिमा मनाइएको भोलिपल्ट तराईका जिल्लामा होली मनाउने परम्पराअनुसार मंगलबार तराईमा हर्षोल्लासपूर्वक होली मनाइएको हो ।
हिमाली एवं पहाडी जिल्लामा सोमबार फागु पूर्णिमा मनाइएको थियो । मंगलबार नवलपरासी (बर्दघाट सुस्तापूर्व), नवलपरासी (बर्दघाट सुस्तापश्चिम), झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहा, उदयपुर, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुरलगायत जिल्लामा होली मनाइएको हो । सबै प्रकारका भेदभावलाई भष्म गरी परस्परमा रङ हाल्दै सबैलाई रसरङ्गले तरङ्गित तुल्याउने होली उल्लास र रङ्गीचङ्गीको पर्वका रूपमा लिने गरिन्छ । असत्यमाथि सत्यको, छलमाथि निश्छलताको र अधर्ममाथि धर्मको विजयको प्रतीक होलीले अनेकतामा एकता कायम गर्दै आएको छ । धार्मिक महत्व सँगसँगै सामाजिक सद्भाव र उमङ्ग प्रदान गर्न होलीको विशेष भूमिका रहेको छ ।
प्राचीनकालमा वसन्तोत्सवका रूपमा स्थापित यो पर्व कालान्तरमा प्रह्लाद, कृष्ण, होलिका, ढुण्ढा आदिका माध्यमले फागु, फगुवा, होली, होरी आदि नामबाट मनाउन थालिएको हो । रसरङ्ग, नाचगान, खानपिन, मनोरञ्जन र आफ्नो रङ्गमा अरूलाई रंग्याउने, ढोल, डम्फु , मृदङ्ग बजाउँदै भेदभाव, मनोमालिन्य त्याग्दै भ्रातृत्व भावना बढाउने यस पर्वको आफ्नै गरिमा रहेको छ । पहाडी जिल्लामा होलीको सोमबार सार्वजनिक विदा दिइएको भए पनि तराईका जिल्लामा मंगलबार सार्वजनिक विदा दिइएको थियो । बिहीबार हुने निर्वाचनको लागि सोमबारबाट नै मौन अवधि लागू भएकोले यस वर्ष विगतको जस्तो धुमधामसंग होली बनाउन भने प्रशासनले रोक लगाएको थियो । सम्बन्धित जिल्ला प्रशासनले सूचना जारी गरेर घरभित्रै सामान्य रूपमा होली मनाउन आग्रह गरेका थिए ।