काठमाडौं । बकान खोला अर्धजलाशय जलविद्युत् आयोजनामा ऋण लगानी जुटेको छ । समिट इनर्जी सोलुसन्स प्रालि प्रवद्र्धक रहेको यो आयोजनामा सानिमा बैंकको अगुवाइमा छ अर्ब ८७ करोड रुपैयाँ लगानी जुटेको हो ।
आयोजनाको प्रवर्द्धक कम्पनी र लगानीकर्ता बैंकहरूबीच आइतबार वित्तीय व्यवस्थापन सम्झौता (फाइनान्सियल क्लोजर) भएको छ । सम्झौताअनुसार आयोजनामा अगुवाइ गरेको सानिमा बैंकले दुई अर्ब ८७ करोड रुपैयाँ ऋण लगानी गर्ने प्रतिबद्धता जनाएको बैंकले जानकारी दिएको छ । यसबाहेक कृषि विकास बैंकले एक अर्ब ५० करोड रुपैयाँ तथा एनआईसी एसिया बैंकले पनि एक अर्ब ५० करोड रुपैयाँ आयोजनामा लगानी गर्ने सम्झौंता भएको छ । एनआईसी एसिया बैंकले पनि उक्त आयोजनामा एक अर्ब रुपैयाँ कर्जा लगानी गर्ने छ । आयोजना निर्माण सम्पन्न गर्न नौ अर्ब १६ करोड रुपैयाँ लागत अनुमान गरिएकोमा वाणिज्य बैंकहरूले गर्ने ऋण लगानी कुल लगानीको ७५ प्रतिशत हो । बाँकी २५ प्रतिशत हुन आउने दुई अर्ब २९ करोड रुपैयाँ स्वपुँजी लगानी प्रवर्द्धक कम्पनीले बेर्होने छन् ।