काठमाडौं । एड्रेसग्राफ नेपाल प्रालिले आफ्नो ‘कताहो’ एपमार्फत निर्वाचनमा खटिने व्यक्तिहरूका लागि लक्षित विशेष निःशुल्क सुरक्षा सुविधा सुरु गरेको छ ।
निर्वाचनको समयमा सुरक्षासम्बन्धी सम्भावित जोखिमलाई मध्यनजर गर्दै कम्पनीले निर्वाचनमा खटिने कर्मचारी, सुरक्षाकर्मी तथा स्वयंसेवकहरूले आकस्मिक परिस्थितिमा आफ्नो परिवार वा आफन्तलाई छिटो र सुरक्षितरूपमा जानकारी दिन सक्ने उद्देश्यले उक्त सेवा उपलब्ध गराएको हो । कुनै अप्रत्याशित घटना वा असहज परिस्थितिमा प्रयोगकर्ताले आफ्नो प्रोफाइलमा राखिएको एसओएस सम्पर्कमार्फत आपत्कालीन सूचना पठाउन सक्नेछन् । सो सूचनासँगै साइरनसहितको सन्देश र प्रयोगकर्ताको डिजिटल ठेगाना/स्थान जानकारी सम्बन्धित व्यक्तिसम्म पुग्नेछ । भीडभाड, होहल्ला वा फोनमार्फत प्रत्यक्ष रूपमा बोल्न नसकिने अवस्थामा यो सुविधा विशेषरूपमा प्रभावकारी हुने अपेक्षा गरिएको छ । हाल प्रत्येक प्रयोगकर्ताले दुईवटा मोबाइल नम्बरमा आपतकालीन सन्देश पठाउन सक्ने सुविधा उपलब्ध रहेको छ ।
यो सेवा प्रयोग गर्नका लागि सर्वप्रथम एन्ड्रोइड वा एप्पल स्टोरबाट ‘कताहो’ एप डाउनलोड गरी आफ्नो जिमेल र मोबाइल नम्बरमार्फत ओटीपी प्रमाणीकरण गर्नुपर्नेछ। त्यसपछि मेनुमा गई आफन्त वा टिमलिडर व्यक्तिको नम्बरलाई आपतकालीन सम्पर्कका रूपमा राखेपछि यो सुविधा तुरुन्त प्रयोग गर्न सकिन्छ । कम्पनीका अनुसार यस सुविधा प्रभावकारी रूपमा सञ्चालन हुन दुवै पक्षले यो एपमा दर्ता हुनुपर्नेछ । नेपालमै विकसित यस डिजिटल समाधानलाई अधिकतम् रूपमा उपयोग गरी सुरक्षित तथा व्यवस्थित सेवा लिन कम्पनीले आग्रह गरेको छ ।