आज बिहीबार देशैभर संघीय प्रतिनिधिसभाको चुनाव हुँदै छ । विशिष्ट परिस्थितिका कारण दुई वर्षअघि नै प्रतिनिधिसभाको चुनाव हुनलागेको हो । सामान्य अवस्था थियो भने २०८४ मा मात्र चुनाव हुनुपर्ने थियो । तर गत भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनसँगै सरकारको बहिर्गमन र संसद् विघटन भएकाले ताजा जनादेशका लागि चुनाव हुनलागेको हो । भदौको राजनीतिक परिवर्तनसँगै पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा चुनाव गराउने म्यान्डेटसहित वर्तमान सरकार गठन भएको थियो । सोसँगै सरकारले फागुन २१ का लागि चुनाव मिति घोषणा गरेको थियो । यहीअनुसार बिहीबार चुनाव हुँदै छ । यस पटकको चुनावमा तीन हजार चार सय छ जना प्रत्यक्ष चुनाव लड्दै छन् । यसअघि नै समानुपातिकतर्फ एक हजार दुई सय ७० उम्मेदवार रहेका छन् । यो चुनावमा ६८ राजनीतिक दलले भाग लिएका छन् भने १६५ निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फका उम्मेदवारले प्रतिस्पर्धा गर्ने निर्वाचन आयोगले जनाएको छ । निर्वाचनमा दुई हजार दुई सय ६३ राजनीतिक दलका उम्मेदवार छन् भने एक हजार एक सय ४३ स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् ।
यसपालिको निर्वाचनमा दुई सय अन्य मतदाता र एक लाख ८६ हजार एक सय ४२ अस्थायी मतदाता छन् । निर्वाचनलाई सफल पार्न सरकारले आवश्यक कर्मचारी र पर्यवेक्षकको व्यवस्थापन गरेको जनाएको छ । यसअनुसार दुई लाख १५ हजार कर्मचारीलाई परिचालन गरिएको छ भने यो निर्वाचनमा चार अन्तर्राष्ट्रियसहित ३९ राष्ट्रिय पर्यवेक्षक संस्थाले अनुगमन गर्नेछन् । आयोगका अनुसार एक करोड ८९ लाख तीन हजार छ सय ८९ जना मतदाता रहेका छन् । यीमध्ये ९६ लाख ६३ हजार तीन सय ५८ पुरुष र ९२ लाख ४० हजार एक सय ३१ महिला छन् । यो चुनाव विशिष्ट परिस्थितिमा हुनलागेकाले सरकारले सोहीअनुसार शान्तिपूण मतदानका लागि सुरक्षाकर्मी खटाएको छ । यसअनुसार ७९ हजार सात सय २७ नेपाली सेना, ३४ हजार ५ सय ७६ सशस्त्र प्रहरी, ७५ हजार सात सय ९७ नेपाल प्रहरी, एक हजार नौ सय २१ गुप्तचर र एक लाख ४९ हजार ९० जना निर्वाचन प्रहरीलाई खटाइएको छ ।
सुरक्षा तयारी पूरा
गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा बुधबार बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले आज हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सम्पूर्ण सुरक्षा तयारी पूरा भएको निष्कर्ष निकालेको छ । बैठकमा सबै सुरक्षा निकायबाट निर्वाचनको तयारीका सम्बन्धमा भएका कार्यको ‘ब्रिफिङ’ लिइएको र सोहीअनुरुप निर्वाचनको सुरक्षा तयारी पूरा भएको बैठकले निष्कर्ष निकालेको हो । मन्त्रालयको सुरक्षा तथा समन्वय महाशाखा प्रमुख आनन्द काफ्लेका अनुसार बैठकमा विशेषगरी सबै सुरक्षा निकायबाट निर्वाचनको तयारीका सम्बन्धमा भएका कार्यको ब्रिफिङ भएको थियो । सोहीअनुसार सबै ‘युनिट’मा आवश्यक बन्दोबस्तीका सामग्री पुगिसकेको, योजनाअनुरुप सबै सुरक्षा निकाय परिचालन भएका छन् । एकीकृत निर्वाचन सुरक्षा योजना २०८२ अनुसार सबै व्यवस्थापन भएको जानकारी दिए ।
संवेदनशील क्षेत्रमा हेलिकप्टरबाट पेट्रोलिङ गर्ने, निर्वाचन विरोधी गतिविधि गतिविधि हुनसक्ने विषयमा सम्भावित सूचना संकलन गर्ने र कानुनविपरीतका गतिविधि भए÷गरेको वा पाइएबमोजिम कारबाही गर्ने पनि बैठकले निर्णय गरेको छ । बैठकमा गृहसचिव राजकुमार श्रेष्ठ, रक्षा मन्त्रालयका सचिव केदारनाथ शर्मा, तीनवटै सुरक्षा निकायका प्रमुख तथा गृहमन्त्रालयका उच्च अधिकारीहरूको सहभागिता थियो ।
छमध्ये एउटा सक्कल परिचयपत्रले मतदान गर्न पाइने
निर्वाचनमा मतदान गर्न मतदाता परिचयपत्र वा त्यसको विकल्पमा अन्य पाँच प्रकारका कागजातका आधारमा मतदान केन्द्र प्रवेश गर्न सकिने निर्वाचन आयोगले स्पष्ट पारेको छ ।मतदाता परिचयपत्रको सक्कल प्रति नभएमा नेपाली नागरिकता, सवारी चालक अनुमतिपत्र, राहदानी, राष्ट्रिय परिचयपत्र वा जग्गा धनी प्रमाण पूर्जाको सक्कल प्रतिमध्ये कुनै एकले मतदान गर्न पाइने आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिए ।
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभरका एक सय ६५ निर्वाचन क्षेत्रमा कुल दुई लाख २१ हजार कर्मचारी खटिएका छन् । ७७ जिल्लाका एक सय ६५ निर्वाचन क्षेत्रका २३ हजार एक यस १२ केन्द्र र समानुपातिकमा मात्र मत हाल्ने एक सय ४३ अस्थायी केन्द्रमा ती कर्मचारी खटाइएको आयोगले जनाएको छ । आयोगका अनुसार पाँच सयभन्दा बढी मतदाता भएका केन्द्रमा नौ जना र पाँच सयभन्दा कम मतदाता भएका केन्द्रमा आठ कर्मचारी खटाउने व्यवस्था मिलाइएको छ ।