काठमाडौं । देशका विभिन्न निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी रहेको छ। शुक्रबार बिहान ८ बजेसम्मको प्रारम्भिक तथ्यांकअनुसार ३१ निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवारले अग्रता लिएका छन्।बिहीबार (फागुन २१) सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत १६५ निर्वाचन क्षेत्रमा मतगणना भइरहेको हो। प्रारम्भिक परिणामअनुसार अधिकांश क्षेत्रमा रास्वपाका उम्मेदवारले उल्लेखनीय अग्रता बनाएका छन्। हालसम्म प्राप्त विवरणअनुसार नेपाली कांग्रेसका उम्मेदवार चार निर्वाचन क्षेत्रमा अग्र स्थानमा छन्। त्यस्तै नेकपा (एमाले) र नेकपा एक–एक निर्वाचन क्षेत्रमा अगाडि रहेका छन्। यद्यपि, अहिलेसम्म कुनै पनि निर्वाचन क्षेत्रको अन्तिम मत परिणाम सार्वजनिक भएको छैन। मतगणना जारी रहेकाले परिणाममा थप परिवर्तन आउन सक्ने निर्वाचन अधिकारीहरूले बताएका छन्।