काठमाडौं , राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले काठमाडौंका सबै १० वटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा अग्रता लिँदै ‘क्लीन स्वीप’ तर्फ अघि बढेको संकेत देखिएको छ। प्रारम्भिक मतगणनाको नतिजाअनुसार रास्वपाका १० वटै उम्मेदवार प्रतिस्पर्धीभन्दा फराकिलो अन्तरले अगाडि रहेका छन्। अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा काठमाडौंका ४ सिट जितेको रास्वपा यसपटक भने बाँकी ६ क्षेत्रमा समेत बलियो स्थितिमा देखिएको छ। प्रारम्भिक मतगणनाले काठमाडौंमा रास्वपाको प्रभाव उल्लेखनीय रूपमा बढेको संकेत गरेको छ।काठमाडौं–३ मा भने उज्यालो नेपालका कुलमान घिसिङ रास्वपाका राजु पाण्डेलाई पछ्याइरहेका छन्। अन्य ९ क्षेत्रमा भने रास्वपाका उम्मेदवारसँग प्रतिस्पर्धी दलहरू निकट प्रतिस्पर्धामा समेत देखिएका छैनन्। काठमाडौं–५ मा एमालेका हस्ती नेता ईश्वर पोखरेल प्रारम्भिक मतपरिणाममा तेस्रो स्थानमा रहेका छन्। उक्त क्षेत्रमा रास्वपाका युवा उम्मेदवार सस्मित पोखरेलले फराकिलो अग्रता बनाएका छन् भने नेपाली कांग्रेसका प्रदीप पौडेल दोस्रो स्थानमा छन्। यसैगरी काठमाडौं–१ मा रञ्जु दर्शना, काठमाडौं–२ मा सुनिल लम्साल र काठमाडौं–४ मा पुकार बमले प्रतिस्पर्धी उम्मेदवारलाई पछाडि पार्दै जितको यात्रामा अघि बढेका छन्। काठमाडौं–६ बाट शिशिर खनाल, काठमाडौं–७ बाट गणेश पराजुली र काठमाडौं–८ बाट बिराजभक्त श्रेष्ठले दोस्रोपटक प्रतिनिधिसभामा विजयी हुने संकेत देखिएको छ। उनीहरू अघिल्लो आमनिर्वाचनमा पनि विजयी भएका थिए। त्यस्तै, काठमाडौं–९ बाट रास्वपाका उपसभापति डीपी अर्याल र काठमाडौं–१० बाट प्रदीप विष्ट पनि प्रतिस्पर्धी उम्मेदवारभन्दा अगाडि रहेका छन्। प्रारम्भिक मतगणनाले काठमाडौं उपत्यकामा रास्वपाको प्रभाव अझ बलियो बनेको संकेत गरेको छ। अन्तिम मतपरिणाम आउन बाँकी रहे पनि हालसम्मको अवस्थाले रास्वपा राजधानीमा ऐतिहासिक जिततर्फ अघि बढिरहेको देखिएको छ।