काठमाडौं । नेपालमा बिहीबार शान्तिपूर्ण रुपमा प्रतिनिधिसभा सदस्यको निर्वाचन सम्पन्न भएसँगै मित्रराष्ट्रहरुले बधाई तथा शुभकामना व्यक्त गरेका छन् । अमेरिका र भारतले बिहीबार मतदान सम्पन्न भएसँगै नेपाललाई बधाई र शुभकामना व्यक्त गरेका हुन् ।
अमेरिकाले भनेको छ, ‘निर्वाचन सम्पन्न भएकोमा नेपाली जनतालाई हार्दिक बधाइ। आगामी सरकारसँग हाम्रा दुवै देशको समृद्धि र सुरक्षासम्बन्धी साझा लक्ष्यहरूमा सहकार्य गर्न हामी उत्सुक छौँ ।’ उसले समृद्धि र सुरक्षाका साझा लक्ष्यहरुमा सहकार्य गर्न तयार रहेको बताएको छ ।
त्यसैगरी भारतले पनि नेपालले सफलतापूर्वक आम निर्वाचन सम्पन्न गरेको भन्दै स्वागत गरेको छ। भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले उत्साहजनक सहभागिताका साथ नेपालमा लोकतान्त्रिक जनादेशको प्रयोग भएको उल्लेख गरेका छन् ।
‘गत वर्षको असामान्य अवस्थाको पृष्ठभूमिमा आयोजित यो चुनाव सफलतापूर्वक सम्पन्न गरेकोमा हामी प्रधानमन्त्री सुशीला कार्की, सरकार र नेपालका जनतासाथै सरोकारवालाहरूलाई बधाई दिन्छौँ’, जैसवालले भनेका छन् ।
भारतले नेपालको नयाँ सरकारसँग मिलेर काम गर्ने तत्परता पनि व्यक्त गरेको छ । ‘आपसी हितका लागि हाम्रा दुई देश र जनताबीचको बलियो सम्बन्धलाई अझ सुदृढ तुल्याउन हामी नेपालको नयाँ सरकारसँग मिलेर काम गर्न तत्पर छौँ’, जैसवालले भनेका छन् ।