काठमाडौं । बीमा कम्पनीहरूले आफ्नो कुल बीमाशुल्क आर्जन रकम १७ दशमलव ५५ प्रतिशतले बढाउन सफल भएका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार चालू आर्थिक वर्षको पछिल्लो सात महिना अर्थात् माघ मसान्तसम्मममा सञ्चालनमा रहेका १४ वटा निर्जीवन र १४ वटा जीवन बीमा समेत गरी २८ वटा बीमा कम्पनीहरूले कुल एक खर्ब ४१ अर्ब ९८ करोड ५० लाख ५३ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् । यो रकम गत आवको सोही अवधिको तुलनामा १७ दशमलव ४३ प्रतिशत अर्थात् २१ अर्ब १९ करोड ६१ लाख ५३ हजार रुपैयाँले बढी हो । गत आवको सोही अवधिमा बीमा कम्पनीहरूले कुल एक खर्ब २० अर्ब ७८ करोड ८९ रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका थिए ।
चालू आवको माघ मसान्तसम्ममा जीवन बीमा कम्पनीहरूले मात्र कुल एक खर्ब १३ अर्ब ७१ करोड चार लाख एक हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् । यो रकम गत आवको सोही अवधिको तुलनामा १८ दशमलव ४३ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा जीवन बीमा कम्पनीहरूले कुल ९६ अर्ब एक करोड १८ लाख ९७ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका थिए । निर्जीवन बीमा कम्पनीहरूले पनि चालू आवको माघ मसान्तसम्ममा कुल २८ अर्ब २७ करोड ४६ लाख ५२ हजार रुपैयाँ कुल निर्जीवन बीमा शुल्क संकलन गरेका छन् । यो रकम गत आवको सोही अवधिको तुलनामा १४ दशमलव १२ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा निर्जीवन बीमा कम्पनीहरूले कुल २४ अर्ब ७७ करोड ७० लाख तीन हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका थिए ।
चालू आवको माघ मसान्तसम्ममा कुल सक्रिय जीवन बीमालेखको संख्या उल्लेख्य रूपमा बढे पनि निर्जीवन बीमा कम्पनीहरूमा कुल बीमालेखको संख्या तुलनात्मकरूपमा कम देखिएको छ । जीवन बीमा कम्पनीहरूमा चालू आवको माघ मसान्तसम्ममा एक करोड ६२ लाख १५ हजार तीन सय ६९ वटा सक्रिय जीवन बीमालेको संख्या रहेको छ । यो संख्या गत आवको सोही अवधिको तुलनामा १४ दशमलव ५७ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा जीवन बीमा कम्पनीहरूमा कुल एक करोड ४१ लाख ५३ हजार आठ सय ४८ वटा सक्रिय जीवन बीमालेखको संख्या रहेको थियो । प्राधिकरणका अनुसार चालू आवको माघ मसान्तसम्ममा जीवन बीमा कम्पनीहरूमा कुल जारी बीमालेखको संख्या भने ४२ लाख ७३ हजार एक सय ९० रहेको छ । यो संख्या गत आवको सोही अवधिको तुलनामा २६ दशमलव ८७ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा जीवन बीमा कम्पनीहरूमा जारी बीमालेखको संख्या ३३ लाख ६८ हजार दुई सय ९४ रहेको थियो । कुल निर्जीवन बीमालेखको संख्या भने चालू आवको माघ मसान्तसम्ममा १९ लाख २९ हजार ८८ वटा पुगेको छ । यो संख्या गत आवको सोही अवधिको तुलनामा पाँच दशमलव ८८ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा कुल निर्जीवन बीमालेखको संख्या १८ लाख २१ हजार नौ सय २७ रहेको थियो ।
‘बीमाको दायरामा आएको कुल जनसंख्या भने ४९ दशमलव ८२ प्रतिशत पुगेको छ । यो संख्या म्यादी, लघु म्यादी र वैदेशिक रोजगार जीवन बीमालेखसहित हो’, प्राधिकरणले भनेको छ । यो संख्या गत आवको सोही अवधिको तुलनामा पाँच दशमलव ८८ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा बीमाको दायरामा आएको कुल जनसंख्या ४३ दशमलव ९४ प्रतिशत रहेको थियो ।