काठमाडौं । भदौ २३ र २४ गतेको जने–जी आन्दोलनको बलमा बनेको सुशीला कार्की नेतृत्वको सरकारले प्रतिनिधिसभा निर्वाचन सफलतासाथ सम्पन्न गरेको छ । बिहीबार देशैभर मतदान सम्पन्न भएको हो ।
निर्वाचनमा प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल र बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री श्रद्धा श्रेष्ठलगायतले आआफ्नो क्षेत्रमा पुगेर मतदान गरे । यसैगरी सरकारबाहिर रहेका पूर्वप्रधानमन्त्रीहरूले पनि बिहीबार प्रतिनिधिसभा निर्वाचनमा मतदान गरे । प्रधानमन्त्री कार्कीले काठमाडौं क्षेत्र नं ५, धापासी निमावली फैमालचुली मतदान केन्द्रबाट मतदान गरेकी थिइन् । उनले करिब नौ बजेतिर मतदान गरेकी हुन् । मतदानपश्चात् सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै निर्वाचन उत्साहपूर्वक भइरहेकामा आफू खुसी भएको बताइन् । ‘मैले मेरो आफ्नो कर्तव्य पूरा गरेँ, म अत्यन्त खुसी छु’, प्रधानमन्त्री कार्कीले भनिन् ।
गृहमन्त्री ओमप्रकाश अर्यालले ललितपुरबाट आफ्नो मताधिकार प्रयोग गरे । उनले ललितपुर निर्वाचन क्षेत्र नं. ३ अन्तर्गत ललितपुर महानगरपालिकास्थित सानेपामा रहेको टीका विद्याश्रम माध्यमिक विद्यालय मतदान केन्द्र पुगेर बिहान मतदान गरेका हुन् । गृहमन्त्री अर्यालले सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै देशभर शान्तिपूर्ण र व्यवस्थितरूपमा मतदान भएको बताए ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले प्रतिनिधिसभा निर्वाचनमा मतदान गरिन् । उनले काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ स्थित भद्रकाली प्राथमिक विद्यालय, खड्का भद्रकालीस्थित (ग) मतदान केन्द्रबाट आफ्नो मताधिकार प्रयोग गरेकी हुन् । उनले मतदानपश्चात् बिहीबारको ऐतिहासिक प्रतिनिधिसभा निर्वाचनमा मतदान गरेर आफ्नो नागरिक कर्तव्य पूरा गरेको बताइन् । मन्त्री श्रेष्ठले लोकतन्त्र सुदृढ बनाउन नागरिकको सक्रिय सहभागिता आवश्यक रहेको बताउँदै मतदानमा उत्साहजनक सहभागिता जनाउन सबैलाई आग्रह गरेकी थिइन् ।
वन तथा वातावरण एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री माधवप्रसाद चौलागाईंले प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत बुधबार गृहजिल्ला जुम्लाको तातोपानी गाउँपालिकास्थित मतदान केन्द्रबाट मतदान गरे । उनले जुम्ला जिल्ला तातोपानी गाउँपालिका–५ मा रहेको श्री दुर्गा माध्यमिक विद्यालय मतदान केन्द्रबाट मतदान मतदान गरेका हुन् । मतदानपछि मन्त्री चौलागाईंले मतदानपछि लोकतान्त्रिक प्रक्रियामा जनताको सहभागिता अत्यन्तै महत्वपूर्ण रहेको बताए । उनले सबै मतदातालाई उत्साहपूर्वक मतदानमा सहभागी हुन आग्रहसमेत गरे ।
त्यस्तै सरकारभन्दा बाहिर रहेका पूर्वप्रधानमन्त्रीहरूले समेत प्रतिनिधिसभा निर्वाचनमा मतदान गरेका थिए । सोही क्रममा एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल, माधवकुमार नेपाल, डा. बाबुराम भट्टाराईलगायतले मतदान गरे । उनीहरूले आ–आफ्नो मतदान केन्द्रमा गएर मतदान गरेका हुन् ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भक्तपुरको बालकोटस्थित महेन्द्र शान्ति विद्यालयबाट पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले मतदान गरेका हुन् । प्रतिनिधिसभा चुनावमा झापा–५ बाट उम्मेदवार रहेका उनले आफैँलाई भने मतदान गर्न पाएनन् ।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहालले चितवनबाट मतदान गरे । उनले क्षेत्र नम्बर ३ अन्तर्गत भरतपुर महानगरपालिका–१४ स्थित नेपाल प्रहरी स्कुल शान्तिपुरबाट मतदान गरे । यो क्षेत्रमा उनकी छोरी भरतपुर महानगरपालिकाकी पूर्वमेयर रेनु दाहाल उम्मेदवार छन् ।
दाहालले आफैँलाई भने मत दिन पाएनन् । उनी यसपछि रुकुम पूर्वबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार छन् । दाहाल मतदानपछि हेलिकोप्टरमार्फत रुकुमपूर्व गएका हुन् । रुकुमपूर्वमा पूर्वप्रधानमन्त्री समेत रहेका दाहालसहित ११ जना चुनावी मैदानमा छन् ।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले रौतहटको गौर नगरपालिका–२ बाट मतदान गरेका छन् । गौरमा रहेको रामजानकी कन्या आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रमा नेपालले मतदान गरेका हुन् । नेपाल रौतहट क्षेत्र नम्बर–१ बाट उम्मेदवार समेत छन् । नेपालसँग नेपाली कांग्रेसका अनिलकुमार झा, नेकपा एमालेका अनिलकुमार गुप्ता, रास्वपाका राजेशकुमार चौधरीलगायत चुनावी प्रतिस्पर्धामा छन् ।
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखाको पालुङ्टार नगरपालिका १ स्थित अन्नपूर्ण मावि केन्द्रमा मतदान गरेका हुन् । यहाँ भट्टराई समर्थित दल प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)ले प्रत्यक्षतर्फ नेपाली कांग्रेसलाई समर्थन गरेको छ ।
त्यस्तै मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले काठमाडौं महानगरपालिका वडा नं. १० स्थित सानो गौचरन मतदान स्थलबाट आफ्नो मतदान गरेका छन् । उनले मतदान गरेपछि नयाँ गठन हुने सरकारलाई शान्ति, सुशासन र समृद्धिका जनअपेक्षालाई पूरा गर्नेतर्फ कदम चाल्न पर्ने बताए । पूर्वअध्यक्ष रेग्मीले भने, ‘मतदाता उत्साहका साथ मतदानमा सहभागी भएको देखिन्छ, देशले निकास पाओस् भन्ने उहाँहरूको चाहना छ, देश स्थायित्व, शान्ति सुव्यवस्था र समृद्धिको मार्गमा अघि बढोस्, जनताको सुखदुःखमा ध्यान देओस् भन्ने जनअपेक्षा पूरा होस् ।’
पूर्वप्रधानमन्त्री तथा कांग्रेस नेता शेरबहादुर देउवा भने मतदानमा सहभागी भएनन् । उनी हाल उपचारका लागि सिँगापुरमा रहेका कारण निर्वाचनमा सहभागी हुन सकेनन् । २०४८ सालदेखि डडेलधुराबाट लगातार चुनाव जित्दै आएका उनले टिकट नपाएपछि चुनावमा भाग नलिएको बताएको पाइन्छ । यसैबीच निर्वाचन आयोगले मतदान देशभर शान्तिपूर्ण र उत्साहपूर्वक सम्पन्न भएको बताएको छ । आयोगका आयुक्त डा. जानकीकुमारी तुलाधरले छिटपुट सामान्य घटनाबाहेक प्रतिनिधिसभा सदस्य निर्वाचनको मतदान बिहीबार देशभर शान्तिपूर्ण र उत्साहपूर्वक सम्पन्न भएको बताइन् ।
निर्वाचन आयोगद्वारा निर्धारित समयअनुसार बिहान ७ः०० बजेदेखि सुरु भएको मतदान साँझ ५ः०० बजे सम्पन्न भएको हो ।