काठमाडौं । नेपाल राष्ट्र बैंकले प्रतिनिधिसभा निर्वाचनको दिन बिहीबार पनि बैंकिङ सेवा उपलब्ध गराएको छ । राष्ट्र बैंकले निर्वाचनअघि नै बैंकिङ सेवा उपलब्ध गराउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिए अनुरुप बिहीबार प्रतिनिधि सभा निर्वाचनको समयमा पनि बैंकिङ सेवा उपलब्ध भएको जनाएको छ ।
राष्ट्र बैंकले सार्वजनिक बिदाका दिन पनि बैंकिङ सेवा उपलब्ध गराउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएसँगै बैंक तथा वित्तीय संस्थाले त्यसलाई कार्यान्वयनमा ल्याएका हो ।
एक निर्देशनमार्फत केन्द्रीय बैंकले होली पर्वका साथै प्रतिनिधिसभा सदस्य निर्वाचनको दिन अर्थात् फागुन २१ गते बिहीबार बैंक तथा वित्तीय संस्थाका कार्यालय सञ्चालनमा रहने व्यवस्था मिलाउन आग्रह गरेको थियो । राष्ट्र बैंकले सरकारी कारोबार गर्न तोकिएका वाणिज्य बैंकहरूद्वारा भुक्तानी व्यवस्था र राजस्व दाखिला गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको हो । निर्वाचन प्रचारप्रसारका निम्ति बैंक खाता सञ्चालन गर्ने बैंक तथा वित्तीय संस्थाहरूद्वारा राजनीतिक दल तथा उमेदवारको नगद वा चेक वा अरू विनिमय साधनको दाखिला, भुक्तानीलगायत बैंकिङ सेवा प्रदान गर्ने व्यवस्था मिलाउन भनिएको थियो , सोही अनुरुप बिहीबार बैंक तथा वित्तीय संस्थाले आफ्नो सेवा दिएका हुन् ।