काठमाडौं । अमेरिका र इजरयालले इरानमाथिक गरेको सैन्य आक्रमणका कारण मध्यपूर्वी क्षेत्रमा उत्पन्न हवाई संकटका कारण अलपत्र परेका यात्रुको उद्दारमा कतार एयरलाइन्सले राहत उडान सञ्चालन गर्ने भएको छ । अबको छ दिनपछि कतार एयरवेजले उद्धार उडानका लागि सीमित राहत उडान सञ्चालन गर्ने घोषणा गरेको हो ।
राहत उडान दोहाबाट नभई ओमानको मस्कटबाट बेलायतको लन्डन (हिथ्रो), जर्मनीको बर्लिन, डेनमार्कको कोपेनहेगन, स्पेनको म्याड्रिड, इटालीको रोम र नेदरल्यान्ड्सको एम्स्टर्डमका लागि सञ्चालन गरिनेछ । साथै साउदी अरेबियाको रियादबाट जर्मनीको फ्रान्कफर्टका लागि पनि एक उडान सञ्चालन गरिने जनाएको छ ।
एयरलाइन्सका अनुसार यी उडानहरू हालको अवस्थाका कारण विभिन्न स्थानमा रोकिएका यात्रुलाई गन्तव्यसम्म पुर्याउने उद्देश्यले सञ्चालन गरिनेछन् । घोषणा गरिएका राहत उडानको सूचीमा नेपाल भने समावेश छैन । कतार एयरवेजका दुईवटा ठूला जहाज भने शनिबारदेखि काठमाडौंमा रोकिएका छन् । यसैबीच कतारको हवाई आकाश बन्द रहेकाले एयरलाइन्सका नियमित उडानहरू अस्थायीरूपमा स्थगित रहेका छन् । कतारको नागरिक उड्डयन प्राधिकरणले हवाई आकाश सुरक्षित रूपमा पुनः खुला भएको घोषणा गरेपछि मात्र नियमित उडान पुनः सञ्चालन गरिने एयरलाइन्सले जनाएको छ ।
यस विषयमा थप जानकारी शुक्रबार दोहा समयअनुसार बिहान ९ बजे सार्वजनिक गरिने कतार एयरवेजले जनाएको छ। यात्रुहरूलाई आधिकारिक सूचना नआउँदासम्म विमानस्थलमा नजान पनि आग्रह गरिएको छ ।