झापा , नेपाली राजनीतिको ‘न्यूक्लियर केन्द्र’ मानिने झापा क्षेत्र नम्बर ५ मा यसपटक ऐतिहासिक उलटफेर भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई भारी मतान्तरले पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। निर्वाचन अधिकृतको कार्यालयका अनुसार बालेनले ओलीलाई ४९ हजार ६१४ मतान्तरले पराजित गरेका हुन्। कुल खसेको मतमध्ये बालेनले ६८ हजार ३४८ मत प्राप्त गर्दा ओली १८ हजार ७३४ मतमा सीमित भएका छन्।रास्वपाले शाहलाई भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारेपछि देशभरको ध्यान झापा–५ मा केन्द्रित भएको थियो। काठमाडौँ महानगरपालिकाको प्रमुख पद त्यागेर राष्ट्रिय राजनीतिमा प्रवेश गरेका बालेनका लागि यो जितले राष्ट्रिय राजनीतिमा बलियो उपस्थिति स्थापित गरेको मानिएको छ। झापा–५ विगत तीन दशकदेखि केपी शर्मा ओलीको बलियो किल्ला मानिँदै आएको थियो। २०४८ सालदेखि निरन्तर यस क्षेत्रबाट सक्रिय रहेका ओलीले २०५६ सालमा बाहेक यहाँ हार व्यहोरेका थिएनन्। विशेषगरी २०७४ र २०७९ को निर्वाचनमा ओलीले फराकिलो मतान्तरसहित जित निकाल्दै आफ्नो प्रभाव कायम राखेका थिए। २०७९ को आम निर्वाचनमा ओलीले नेपाली कांग्रेसका खगेन्द्र पाण्डव अधिकारीलाई २८ हजार ५७६ मतान्तरले पराजित गरेका थिए। त्यतिबेला ओलीले ५२ हजार ३१९ मत प्राप्त गर्दा अधिकारीले २३ हजार ७४३ मत पाएका थिए। तर, यसपटकको निर्वाचनमा ओलीको मत १८ हजारमा झर्नुले उनको परम्परागत मत आधार कमजोर बनेको संकेत गरेको छ। उता बालेनले प्राप्त गरेको ६८ हजारभन्दा बढी मतले युवा तथा ‘स्विङ भोटर’को ठूलो समर्थन रास्वपातर्फ केन्द्रित भएको देखिएको छ। काठमाडौँ महानगरपालिकामा देखाएको कार्यशैली र सुशासनको अपेक्षाले पनि मतदातालाई प्रभावित पारेको विश्लेषण गरिएको छ। यो नतिजासँगै रास्वपा संसद्मा अझ बलियो शक्तिका रूपमा उदाएको छ। झापा–५ को परिणामले केवल एउटा सिटको मात्र फैसला नगरी नेपाली राजनीतिमा नयाँ पुस्ताको उदय र राजनीतिक ध्रुवीकरणको संकेतसमेत दिएको विश्लेषकहरूको भनाइ छ।