काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा विरासतको राजनीतिलाई नराम्रो धक्का लागेको छ । वर्षौँदेखि सत्ताको चाबी हातमा लिएका दलहरु यसपटकको निर्वाचनमा पराजित भएका हुन् । भदौ २३ र २४ को परिवर्तनपछि पूर्ववर्ती सत्तालाई फागुन २१ को निर्वाचनमा क्षति पुगेको हो ।
खासगरी उक्त परिवर्तनका बेला सत्तामा रहेको नेपाल कम्युनिस्ट पार्टी (एमाले)का शीर्ष नेतृत्वहरू पराजित भएका छन् । तत्कालीन सत्ता सहयात्री दलहरु नेकपा एमाले र नेपाली कांग्रेसलाई यो निवार्चनमा बढी क्षति पुगेको छ । त्यसमा पनि नेकपा एमालेलाई ठूलो धक्का लागेको छ । तत्कालीन प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष विष्णु पौडेल, पृथ्वीसुब्बा गुरुङ, गोकर्ण विष्ट, महासचिव शंकर पोखरेल र महेश बस्नेतलगायत प्रतिनिधिसभा निर्वाचनमा पराजित हुन पुगेका छन् ।
झापा–५ मा अध्यक्ष ओली राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता बालेन्द्र (बालेन) शाहसँग विशाल मतान्तरले पराजित भएका हुन् । बालेनले ६८ हजार तीन सय ४८ मतसहित निर्वाचित हुँदा ओलीले १८ हजार सात ३४ मतमा सीमित भए । बालेनले ओलीलाई ४९ हजार छ सय १४ मतले पराजित गरेका हुन् । श्रम संस्कृति पार्टीका समिर तामाङ तेस्रो स्थानमा रहे भने नेपाली कांग्रेसकी मन्धरा चिमरिया चौथो स्थानमा रहिन् । समिरले नौ हजार दुई सय ३३ मत प्राप्त गर्दा मन्धराले एक हजार आठ सय २१ मत प्राप्त गरिन् ।
झापा–५ बाट ओली पटक–पटक निर्वाचित हुँदै आएका थिए भने बालेन पहिलो पटक संसदीय निर्वाचनमा उम्मेदवार बनेका हुन् । बालेनलाई रास्वपाले भावी प्रधानमन्त्रीका रूपमा अघि सारेर निर्वाचन प्रचारप्रसार गरेको थियो । यसअघि काठमाडौं महानगरपालिकाको मेयर रहेका बालेन प्रतिनिधिसभा निर्वाचन घोषणा भएपछि राजीनामा दिएर संसदीय यात्राको तयारीमा जुटेका थिए ।
उपाध्यक्ष विष्णु पौडेल रास्वपाका सुलभ खरेलसँग पराजित हुन पुगे । रुपन्देही २ बाट प्रतिस्पर्धा गरेका पौडेलले १२ हजार आठ सय ६१ मत प्राप्त गर्दा रास्वपाका खरेलले ५६ हजार पाँच सय ५० मत प्राप्त गरेका हुन् । ४३ हजार छ सय ८९ मतान्तरले पौडेल पराजित भएका हुन् । नौ हजार तीन सय ९२ मत प्राप्त गरी तेस्रोमा भने नेपाली कांग्रेसका चुन्न प्रसाद शर्मा भए ।
अर्का उपाध्यक्ष पृथ्वी सुब्बा गुरुङ पनि रास्वपा नेता धर्मराज केसीसँग पराजित भएका हुन् । लमजुङमा भएको प्रतिस्पर्धामा केसीले ३३ हजार आठ सय ९८ मत ल्याउँदा गुरुङले १६ हजार आठ ७६ मत प्राप्त गरे । केसीसँग १७ हजार २२ को फराकिलो मतान्तरले उनी पराजित भएका हुन् । सोही क्षेत्रमा कांग्रेसका गमप्रसाद गुरूङ तेस्रो हुदै १६ हजार पाँच सय ६९ मत प्राप्त गरे । महासचिव शंकर पोखरेल, सचिव शेरधन राई, गोकर्ण विष्टले पनि रास्वपाका उम्मेदावरसँग हार व्यहोरेका हुन् । दाङ क्षेत्र नं.२ बाट नेकपा एमाले महासचिव शंकर पोखरेललाई हराउँदै राष्ट्रिय स्वतन्त्र पार्टीका विपिनकुमार आचार्य विजयी भएका हुन् ।
आचार्यले ४३ हजार पाँचसय ७५ मत ल्याएका छन् भने पोखरेलले १५ हजार दुइ सय ८२ मत मत ल्याएर पराजित हुन पुगेका हुन् । आचार्यले २८ हजार दुई सय ९३ मतान्तरले महासचिव पोखरेललाई हराएका हुन् । सोही क्षेत्रमा कांग्रेसका किरण किशोर घिमिरेले ११ हजार दुई सय ७७ मत, नेपाली कम्युनिस्ट पार्टीका निर्मल आचार्यले सात हजार ८१ मत प्राप्त गरे ।
रास्वपाका गोविन्द पन्थीले पाँच सय ६१ मतान्तरले गोकर्ण विष्टलाई पराजित गरेका हुन् । विजयी पन्थीले १६ हजार नौ ६७ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी विष्टले १६ हजार चार सय छ मत प्राप्त गरे । नेपाली कांग्रेसका भुवनप्रसाद श्रेष्ठले १४ हजार चार सय ३४ मत प्राप्त गरेका छन् । भक्तपुर– २ बाट रास्वपाका उम्मेदवार राजीव खत्री विजयी भएका छन् । खत्रीले ४२ हजार तीन सय ३३ मत प्राप्त गर्दै निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका महेश बस्नेतलाई पराजित गरेका हुन् । बस्नेतले १० हजार सात सय १७ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका उम्मेदवार कविर रानाले आठ हजार तीन सय पाँच मत प्राप्त गरेका छन् ।
पराजित भएसँग एमाले अध्यक्ष, उपाध्यक्षसहित अन्य नेताहरूको संसदीय यात्रामा समेत रोक लागेको छ । निश्चित जित रहेको भन्दै निर्वाचन प्रतिस्पर्धामा होमिएका एमालेका शीर्षस्थ नेताहरू नै पराजित हुन पुगेका हुन् । लामो समयदेखि संसदीय अभ्यासमा समेत पोख्त रहेका उनीहरूले निर्वाचनामा पराजित हुनमा आफूहरूको कमजोरी रहेको बताएका छन् ।
पराजितपछि एमालेका नेताहरू कसले के भने ?
प्रतिनिधिसभा सदस्य निर्वाचनमा पराजित भएपछि एमाले उपाध्यक्ष विष्णु पौडेलले पार्टीका तर्फबाट भएका गल्ती कमजोरीहरूको गम्भीर समीक्षा गर्दै जनअपेक्षाअनुसार आफैँलाई रूपान्तरण गर्न अग्रसरता लिने दावी गरेका छन् ।
रुपन्देही–२ मा पराजित भएपछि सामाजिक सञ्जालमा लेख्दै पौडेलले एमालेको नीति, नेतृत्व, संगठन र कार्यशैलीलाई जनअपेक्षाअनुरुप पुनर्गठन गर्न पनि अग्रसरता लिने दाबी गरेका हुन् ।
‘विगतमा हाम्रातर्फबाट भएका गल्ती कमजोरीहरूको गम्भीर समीक्षा गर्न, जनअपेक्षाअनुसार आफैँलाई रुपान्तरण गर्न र नेकपा (एमाले) को नीति, नेतृत्व, संगठन र कार्यशैलीलाई जनअपेक्षाअनुरूप पुनर्गठन गर्न अग्रसरता लिने र अविचलित भएर जनता र राष्ट्रको सेवामा समर्पित भइरहने प्रतिबद्धता व्यक्त गर्दछु’, पौडेलले भनेका छन् ।
उनले लोकतन्त्रको सुन्दरता नै जनताको अभिमत हुने भन्दै रुपन्देही क्षेत्र नम्बर २ का मतदाताहरूको फैसलालाई सविनय र सहर्ष स्वीकार्ने बताएका छन् ।
त्यस्तै उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङले अहिलेको निर्वाचन परिणामले देशमा समस्या निम्त्याउन सक्ने बताएका छन् । लमजुङ प्रतिनिधिसभा सदस्यमा पराजित भएपछि शनिबार प्रतिक्रिया दिँदै उनले भने, ‘उहाँहरूको दुई तिहाई बहुमत आउला जस्तो छ । यो नै हाम्रो मुलुकको लागि समस्या हुन सक्छ ।’
उनले प्राप्त मतलाई सुझबुझपूर्ण ढंगले सम्बोधन गर्न सुझाएका छन् । ‘संविधान संशोधनबारे उहाँहरूको प्रतिबद्धता आउनु जरुरी छ । संघीयता खारेज गर्न खोज्या हो कि ? समावेशी निर्वाचन प्रणालीबारे उहाँहरूको धारणा के हो ?’ प्रश्न गर्दै उनले भने, ‘राष्ट्रिय सहमतिको आधारमा बाहेक बलजफ्ती गर्न खोजियो भने मुलुकमा फेरि अर्को द्वन्द्व सुरु हुन्छ ।’
गुरुङले यसपालिको निर्वाचनमा मतदाताले एजेन्डालाई नभई नयाँको नाममा मात्रै मत दिएको प्रतिक्रिया दिएका छन् । महासविच शंकर पोखरेलले आम निर्वाचन २०८२ को जनादेश राष्ट्रिय स्वतन्त्र पार्टीको पक्षमा आएको बताए । जनताले ‘नयाँबाट केही हुन्छ कि’ भन्ने विश्वासका साथ अभिमत दिएका छन् । ‘जनविश्वासअनुरूप अघि बढ्न पार्टीका प्रस्तावित प्रधानमन्त्री उम्मेदवार बालेन शाहसहित विजयी हुनुहुने सम्पूर्ण प्रतिनिधिहरूलाई कार्य सफलताको शुभकामना । यस पटकको निर्वाचनमा म उम्मेदवार भएको निर्वाचन क्षेत्रमा पार्टीका नेता तथा कार्यकर्ताहरूले निकै मिहिनेत गर्नुभयो । शुभेच्छुक र आफन्तजनहरूले पनि उत्तिकै साथ र सहयोग दिनुभयो । तर ‘परिवर्तन’को लहरका सामु हाम्रो प्रयास सफल हुन सकेन । अभियानमा जुट्नुहुने सबैलाई हृदयदेखि नै धेरै–धेरै धन्यवाद । म उमेद्वार भएको प्रतिनिधिसभा–२ निर्वाचन क्षेत्रबाट रास्वपाका विपिन आचार्य निर्वाचित हुनुभएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना । निर्वाचनमा सहभागी भई मतदान गर्नुहुने सम्पूर्ण मतदाताहरूलाई हार्दिक आभार तथा धन्यवाद ज्ञापन गर्दछु’, पोखरेलले भनेका छन् ।
उनले अन्त्यमा, ‘जिन्दगी हो—हार जित भइरहन्छ, बाधा पन्छाउँदै नदी बगिरहन्छ ।’ भन्ने गीतको भावझैँ लोकतान्त्रिक प्रक्रियामा हार–जित स्वाभाविक हो । निराश नभई सकारात्मक सोचका साथ आफ्नो कर्तव्यमा निरन्तर लागिरहन सबैमा हार्दिक अनुरोध समेत गरेका छन् ।
जितपछि रास्वपाका नेताहरूले के भने ?
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट झापा–५ मा निर्वाचित बालेन्द्र शाह (बालेन)ले मतदातालाई धन्यवाद दिएका छन् । अन्तिम मतपरिणाम सार्वजनिक भएसँगै बालेनले आफ्ना समर्थक र मतदातासमक्ष पुगेर धन्यवाद दिएका हुन् । प्रमाणपत्र लिएसँगै उनले आफ्ना समर्थकहरूसमक्ष पुगेर एउटा ब्यानर देखाए । जहाँ लेखिएको छ, ‘तपाईँहरूलाई धेरै धेरै धन्यवाद, छ ।’
गुल्मी क्षेत्र नम्बर १ बाट जित सुनिश्चित गरेका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सागर ढकालले जनताले दिएको अभूतपूर्व माया र मतलाई जिम्मेवारी पूरा गर्ने अवसरको रूपमा लिएको बताएका छन् । सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले अबको समय उत्सव मनाउनेभन्दा पनि काम गरेर देखाउने बेला भएको उल्लेख गरेका हुन् ।
उनले अब विजय ¥यालीभन्दा पनि परिणामको ¥याली देखाउनु आफ्नो प्राथमिकता हुने स्पष्ट पारेका छन् । निर्वाचनको परिणामलगत्तै ढकालले फिल्डमा कामको सुरुवात गरिसकेको जानकारी दिएका छन् । गुल्मीमा मतगणना चलिरहँदा नै आफूले एउटा अलपत्र अवस्थामा रहेको सिँचाइ योजनाको निरीक्षण गरेको र त्यसको समाधान निकाल्न लागिपरेको उनले बताए ।
ढकालका अनुसार आगामी दिनमा नीतिगत तहबाटै धेरै नयाँ पहलहरूको सुरुवात हुनेछ र अबको पाँच वर्ष गफभन्दा पनि परिणामले नै बोल्नेछ ।