काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले संयुक्त अरब इमिरेट्स (यूएई)का राष्ट्रपति शेख मोहमद बिन जायद अल नाह्यानसँग टेलिफोन संवाद गरेकी छिन् ।
प्रधानमन्त्री कार्कीले शनिबार संवादका क्रममा यूएईको सार्वभौम क्षेत्रमा नागरिक पूर्वाधारलाई समेत लक्षित गरी भएका आक्रमणहरूको निन्दा गर्दै यस विषम परिस्थितिमा संयुक्त अरब इमिरेट्सलाई नेपालका तर्फबाट ऐक्यबद्धता व्यक्त गरिन् । प्रधानमन्त्री कार्कीले यस परिस्थितिमा सम्बन्धित सबै पक्षलाई अधिकतम संयमता अपनाउन, तनाव नबढाउन र नागरिकको सुरक्षा सुनिश्चित गर्न आग्रह गरेको उनको सचिवालयले जनाएको छ । युद्ध कहिल्यै शान्तिको विकल्प हुन नसक्ने उल्लेख गर्दै उनले कूटनीति र संवादका माध्यमबाट मात्र दिगो शान्ति सम्भव हुने बताइन् । पश्चिम एसियाको परिस्थिति यथाशीघ्र सामान्य अवस्थामा फर्कने उनको विश्वास छ ।
प्रधानमन्त्री कार्कीले सार्वजनिक सुरक्षा सुनिश्चित गरेकामा र त्यहाँ रहेका नेपाली नागरिकसहित सबै बासिन्दा, आगन्तुक र ‘ट्रान्जिट’मा रहेका मानिसको समान रूपमा हेरविचार गरेकामा यूएई सरकारलाई धन्यवाद दिइन् । प्रधानमन्त्री कार्कीले यही फागुन १७ गते जायद अन्तर्राष्ट्रिय विमानस्थलमा सेवाप्रवाहका क्रममा एक नेपाली नागरिकले जीवन गुमाएको जानकारी प्राप्त हुँदा आफूलाई दुःख लागेको बताइन् । साथै फागुन २१ गते अबुधाबीको आईसीएडी क्षेत्रमा दुईजना नेपाली घाइते भएको जानकारी पाउँदा चिन्ता लागेको उनको भनाइ छ । प्रधानमन्त्री कार्कीले शान्ति र विकासलाई प्रवर्द्धन गर्न क्षेत्रीय तथा वैश्विक कूटनीतिक प्रयासमा यूएईले राष्ट्रपति शेख मोहमद बिनको कुशल नेतृत्वमा भएका कामको प्रशंसा गरेकी थिइन् ।
आगामी वर्षमा आर्थिक साझेदारी र जनता–जनताबीचको सम्बन्धलाई अझ बलियो बनाउँदै द्विपक्षीय सम्बन्ध विस्तारित र सुदृढ हुँदै जाने विश्वास पनि उनले व्यक्त गरिन् । उनले राष्ट्रपति, यूएई सरकार र त्यहाँका जनतालाई त्यस क्षेत्रमा दिगो शान्ति सुनिश्चित गर्न सफलता मिलोस् भन्ने शुभकामना दिइन् । प्रधानमन्त्रीले यो अवस्था लामो समयसम्म नरहने विश्वास व्यक्त गर्दै यसले अन्ततः नयाँ कूटनीतिका लागि स्थान उपलब्ध गराउने बताइन् । नेपाल वर्तमान तनावको प्रत्यक्ष पक्ष नभए पनि यसको परिणाम भोगिरहेको उनको भनाइ छ । उनले तत्कालका लागि नेपाली नागरिकको सुरक्षा चिन्ता र दीर्घकालीन रुपमा बढ्दो इन्धन मूल्य, लगानी प्रवाहमा संकुचन र बढ्दो मुद्रास्फीतिसहित व्यापक आर्थिक दबाबको सामना गरिरहनुपरेको बताइन् । ‘ट्रान्जिट’मा रहेका यात्रु विस्तारै नेपाल वा तेस्रो देशमा आ–आफ्ना गन्तव्यमा सुरक्षित रूपमा प्रस्थान गर्नसक्नेमा प्रधानमन्त्रीले विश्वास व्यक्त गरिन् ।
यूएईका राष्ट्रपतिले विषम परिस्थितिमा नेपालले एक असल मित्रका रूपमा प्रस्तुत गरेको ऐक्यबद्धता र सहानुभूतिप्रति यूएईकोतर्फबाट प्रधानमन्त्री कार्कीलाई धन्यवाद व्यक्त गरे । उनले काममा खटिएका बेला एक जना नेपालीले ज्यान गएकामा दुःख व्यक्त गर्दै समवेदना प्रकट गरेका थिए भने नेपाल र यूएईबीचको सुमधुर सम्बन्धप्रति सन्तुष्टि व्यक्त गर्दै नेपालीको मेहनत र असल आचरणको प्रशंसा गरे । यूएईका राष्ट्रपतिले दुवै मुलुकका राजदूतले नेपाली नागरिकको सुरक्षा तथा हित संरक्षणका लागि सक्दो प्रयास गरिरहेका बताए । साथै उनले नेपालीको सुरक्षाका लागि हरसम्भव प्रयत्न गर्न आफू तत्पर रहेको बताए । केही नेपाली नेपाल फर्कन चाहेको आफूले जानकारी पाएको उल्लेख गर्दै यूएईका राष्ट्रपतिले परिस्थिति सहज भएपछि सबै किसिमको सहयोग उपलब्ध गराइने उल्लेख गरे ।