गोरखा । संयुक्त अरब इमिरेट्सको अबुधाबीमा इरानको आक्रमणमा परी ज्यान गुमाएका गोरखाको भीमसेन थापा गाउँपालिका–७ बोर्लाङ ठाँटीका दिवस श्रेष्ठको शव नेपाल ल्याएर अन्येष्टी गरिएको छ ।
नेपाली दूतावास अबुधाबीको पहलमा शनिबार एयर अरेबियाको उडानमार्फत श्रेष्ठको शव नेपाल ल्याइएको हो । मृतकको शव पशुपति आर्यघाटमा शनिबार नै अत्येष्टी गरिएको भीमसेन थापा–७ का वडाध्यक्ष नारायण श्रेष्ठले जानकारी दिए । २९ वर्षीय श्रेष्ठको अबुधाबीस्थित जायद अन्तरराष्ट्रिय विमानस्थलमा ड्रोन निष्क्रिय पार्ने क्रममा भएको घटनामा परी गएको आइतबार निधन भएको थियो । अबुधाबीमा रहेको मिडिल इस्ट कम्पनीमा सुरक्षागार्डका रूपमा कार्यरत श्रेष्ठ तीनवर्ष अघि वैदेशिक रोजगारीको सिलसिलामा त्यहाँ गएका थिए । गत असोजमा नेपाल आएर उनी फेरि दुबइ फर्किएका थिए । मृतक श्रेष्ठको बुवा, आमा र एक बहिनी छन् ।