काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था खुद नाफा बढाउन सफल भएको छ । संस्थाले चालु आर्थिक वर्षको पछिल्लो छ महिनाको अवधिमा पाँच करोड ६५ लाख ३६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा चार करोड रुपैयाँले बढी हो । गत आवको सोही अवधिमा संस्था एक करोड ५६ लाख ८३ हजार रुपैयाँ खुद नोक्सानीमा रहेको थियो ।
संस्थाको हाल चुक्ता पुँजी ६८ करोड पाँच लाख चार हजार एक सय १४ रुपैयाँ रहेको छ । संस्थाले चालु आवको दोस्रो त्रैमासमा एक अर्ब ६९ करोड ३० लाख ३१ हजार एक सय ५० रुपैयाँ निक्षेप संकलन गरी छ अर्ब तीन करोड ७२ लाख ६० हजार रुपैयाँ कर्जा लगानी गरेको छ । यस अवधिमा २२ करोड ३९ लाख ९४ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा १३ दशमलव ३२ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।
संस्थाले गत आवको सोही अवधिमा एक अर्ब ६० करोड १८ लाख ६० हजार रुपैयाँ निक्षेप संकलन गरी पाँच अर्ब ४९ करोड ६६ लाख ४४ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा ११ करोड ३८ लाख ७८ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा सात दशमलव ८३ प्रतिशत कर्जा निष्क्रिय देखिएको थियो ।