काठमाडौं । बेइजिङस्थित नेपालको दूतावासले चीन–नेपाल सांस्कृतिक आदान–प्रदान केन्द्रसँग सहकार्य गर्दै ‘लुम्बिनी प्रेयर एन्ड मेरिट गार्डेनः सार्वजनिक हित परियोजना’को शुभारम्भ गरेको छ ।
उक्त परियोजना लुम्बिनी बौद्ध विश्वविद्यालयको परिसरमा निर्माण गरिने ध्यान हल, संग्रहालय र बगैंचासहितको संरचना रहने बताइएको छ । दूतावासकी कार्यवाहक प्रमुख रोशन खनालले नेपाल र चीनबीचको पुरानो सम्बन्ध सांस्कृतिक निकटता, भौगोलिक नजिकाइ तथा जनस्तरको सम्बन्धमा आधारित रहेको उल्लेख गरिन् । उनले बुद्ध धर्मसँग सम्बन्धित साझा सांस्कृतिक सम्पदाले दुई देशबीच आध्यात्मिक तथा सांस्कृतिक सम्बन्धलाई अझ बलियो बनाएको बताइन् । कार्यक्रममा भिडियो सन्देशमार्फत लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्रोफेसर डा. सुबर्णलाल बज्राचार्यले विश्वभर भइरहेका द्वन्द्वको सन्दर्भमा विश्व शान्ति, अन्तरसांस्कृतिक मित्रता र साझा समृद्धिको महत्वमा जोड दिए ।
चीन–नेपाल सांस्कृतिक आदान–प्रदान केन्द्रका अध्यक्ष तथा संस्थापक ली बोले उक्त परियोजना यस वर्षको मार्च महिनाबाट सुरु भई तीन वर्षभित्र सम्पन्न हुने जानकारी दिए । उनले यस परियोजनाले नेपाल र चीनबीच सामाजिक–सांस्कृतिक सहकार्य तथा जनस्तरको सम्बन्ध विस्तारमा महत्वपूर्ण उपलब्धि हासिल गर्ने बताए । कार्यक्रमका क्रममा बेइजिङ झेनतु अटेन ह्याप्पी इन्टरनेशनल ट्राभल सर्भिसले सञ्चालन गर्ने ‘१० हजार मानिस नेपाल यात्रा’ परियोजनाको पनि उद्घाटन गरिएको थियो । उक्त परियोजनाअन्तर्गत चार्टर्ड उडानमार्फत १० हजार चिनियाँ पर्यटकलाई नेपाल पठाइने जानकारी दिइएको छ । कार्यक्रममा करिब १०० जना सहभागी रहेका थिए । सहभागीहरूमा चिनियाँ जनमैत्री संघ, चीन ट्राभल सर्भिस एसोसिएसन, चीनको संस्कृति तथा पर्यटन मन्त्रालय, विभिन्न ट्राभल एजेन्सी र कम्पनीहरूका प्रतिनिधि रहेका थिए । उक्त परियोजना तथा भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीसम्बन्धी फोटो प्रदर्शनीसमेत आयोजना गरिएको थियो ।