काठमाडौं । भर्चुअल रियालिटी (भीआर) उडान प्रशिक्षण प्रदायक लफ्ट डाइनामिक्सले नेपालको चुनौतीपूर्ण हवाई वातावरणमा सुरक्षा सुदृढ गर्न नयाँ हेलिकोप्टर सुरक्षा प्रशिक्षण गर्ने भएको छ ।
युरोपेली युनियन एभिएसन सेफ्टी एजेन्सी र एयरबस हेलिकोप्टर्ससँगको साझेदारीमा सुरु गरिएको यसले नेपालमा हेलिकोप्टर दुर्घटना न्यूनीकरण गर्ने र पाइलटहरूको पूर्वतयारीलाई मजबुत बनाउने लक्ष्य राखेको छ । नेपाल सरकारको शून्य हताहतीको लक्ष्यलाई यस कार्यक्रमले प्रत्यक्ष सहयोग पुर्याउने विश्वास गरिएको छ । नेपालको हवाई क्षेत्र उच्च हिमाली भू–भाग र अनिश्चित मौसमका कारण निकै चुनौतीपूर्ण मानिन्छ । नेपाल नागरिक उड्डयन प्राधिकरणको २०२५ को सुरक्षा प्रतिवेदनले यस्तो जटिल परिस्थितिमा उडान भर्न पाइलटहरूमा उच्च स्तरको दक्षता आवश्यक रहेको औँल्याएको थियो । विशेषगरी विकट क्षेत्रमा यातायात, उद्धार र पर्यटनका लागि मेरुदण्ड मानिने हेलिकोप्टर सेवालाई थप भरपर्दो बनाउन यो तालिम केन्द्रित रहने आयोजकले लफ्ट डायनामिक्सले जनाएको छ ।
काठमाडौंमा सञ्चालन हुने एक महिना लामो यस सुरक्षा कार्यक्रममा लफ्ट डाइनामिक्सको ‘एच १२५’ उडान सिमुलेटर प्रयोग गरिनेछ । यसका साथै एयरबस हेलिकोप्टर्सले अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको मापदण्डअनुसार विकास गरेका प्रशिक्षण पाठ्यक्रमहरू पनि समावेश गरिएका छन् । यस पहलअन्तर्गत नेपालका सबै हेलिकोप्टर पाइलटहरूले अनिवार्यरूपमा चार घण्टाको सिमुलेटर आधारित तालिम पूरा गर्नुपर्नेछ, जसमा विशेष गरी पहाडी उडान र एच१२५ हेलिकोप्टरको आपतकालीन अवस्थाको व्यवस्थापनमा जोड दिइने बताइएको छ ।
विश्वविख्यात प्रशिक्षकहरू लोरेन्ज नुफर र निक मेह्युले पहाडी उडानको प्रशिक्षण दिनेछन् भने एयरबस इन्टरनेसनल सर्भिसका क्लाउस क्राउस र एयरबस हेलिकोप्टर्सका प्रशिक्षण सञ्चालन प्रमुख यान गेरिनले आपतकालीन अवस्थाको तालिमको नेतृत्व गर्ने लफ्ट डाइनामिक्सले जनाएको छ । एयरबस हेलिकप्टर्सका उड्डयन सुरक्षा व्यवस्थापन प्रमुख आर्ड भोन फाविकका अनुसार उन्नत विमान मात्र पर्याप्त नभई, कठिन परिस्थिति सामना गर्न सक्ने दक्ष पाइलट तयार गर्नु नै उद्योगको मुख्य प्राथमिकता हो । लफ्ट डाइनामिक्सका संस्थापक तथा सीटीओ फबी रिजेनले हिमालय जस्तो क्षेत्रमा परम्परागत फुल फ्लाइट सिमुलेट स्थापना गर्न सम्भव नहुने भएकाले पोर्टेबल र प्रभावकारी भीआर प्रविधि ल्याइएको बताए ।
यो पहल ईयू–दक्षिण एसिया उड्डयन साझेदारी परियोजनाको रूपरेखाभित्र कार्यान्वयन गरिएको हो । यो एक क्षेत्रीय प्राविधिक सहकार्य कार्यक्रम हो, जसलाई युरोपेली संघ उड्डयन सुरक्षा एजेन्सी (ईएएसए)ले कार्यान्वयन गर्दै आएको छ । यस कार्यक्रमले दक्षिण एसियाभरिका नागरिक उड्डयन प्राधिकरणहरू तथा उद्योग सरोकारवालाहरूसँग निरन्तर सहकार्य गर्दै उड्डयन सुरक्षा सुदृढीकरण, नियामक एकरूपता प्रवद्र्धन, र क्षमता अभिवृद्धिमा सहयोग पुर्याउँछ ।