नेपालको पुँजी बजार अहिले पनि विकासकै चरणमा रहेको छ । पुँजी बजारमा अझै धेरै समस्याहरू बहसको विषयको रूपमा रहेका छन् । तीमध्येको एउटा विषय हो, सिंगल आईजीन र डबल आईजीन ।
पुँजी बजारको भाषामा आईजीन अर्थात् इन्टरनेसल सेक्युरिटिज आईडिन्टीफिकेसन नम्बर भनेको कुनै पनि सिक्युरिटीलाई अन्तर्राष्ट्रियरूपमा चिनाउन प्रयोग गरिने पहिचान नम्बर हो । नेपालमा सूचीकृत कम्पनीका सेयरहरूलाई यस्तो नम्बर दिने र डिम्याट प्रणालीमार्फत कारोबार तथा सेटलमेन्ट व्यवस्थापन गर्ने काम सीडीएस एन्ड क्लियरिङ लिमिटेडले गर्दै आएको छ । यसैको आधारमा नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा सेयर कारोबार सञ्चालन हुन्छ ।
नेपालको पुँजी बजारमा अहिले प्रायः कम्पनीहरूमा डबल आईजीन प्रणाली प्रयोग हुँदै आएको छ । यस प्रणालीअन्तर्गत एउटै कम्पनीका फरक–फरक प्रकारका सेयरहरूलाई फरक आईजीन नम्बर दिइन्छ । विशेषगरी संस्थापक सेयर र सर्वसाधारण सेयरलाई छुट्टाछुट्टै आईजीन नम्बर प्रदान गरिन्छ । यसले गर्दा प्रमोटर र पब्लिक सेयरको पहिचान अलग हुन्छ र आवश्यक नियमन लागू गर्न सहज हुन्छ ।
डबल आईजीन प्रणालीको मुख्य उद्देश्य कम्पनीको स्वामित्व संरचना सुरक्षित राख्नु हो । संस्थापक समूहले कम्पनी स्थापना गर्दा ठूलो लगानी गरेको हुन्छ र उनीहरूलाई कम्पनीको दीर्घकालीन नियन्त्रण कायम राख्न विशेष अधिकार दिइन्छ । त्यसैले प्रमोटर सेयरमा प्रायः लक–इन अवधि हुन्छ, जसले उनीहरूलाई निश्चित समयसम्म सेयर बेच्न नदिने व्यवस्था गर्छ । यस दृष्टिले डबल आईजीन प्रणालीले कम्पनीको स्वामित्व संरचना स्थिर राख्न मद्दत गर्छ । तर, यस प्रणालीका केही कमजोरीहरू पनि रहेका छन् । प्रमोटर र पब्लिक सेयरबीच बजार मूल्यमा ठूलो अन्तर देखिनु यसको प्रमुख समस्या हो । धेरै अवस्थामा प्रमोटर सेयरको मूल्य पब्लिक सेयरको तुलनामा निकै कम हुन्छ । यसले बजारमा असन्तुलन र भ्रम सिर्जना गर्न सक्छ । कतिपय अवस्थामा प्रमोटर सेयर सस्तोमा खरिद गरी पब्लिकमा रूपान्तरण गर्ने प्रवृत्ति बढ्न सक्छ, जसले बजारमा अस्वाभाविक दबाब सिर्जना गर्न सक्छ ।
यही कारणले पछिल्लो समय नेपाली पुँजी बजारमा पनि सिंगल आईजीन प्रणाली लागू गर्ने विषयमा बहस हुँदै आएको छ । सिंगल आईजीन प्रणालीअन्तर्गत कम्पनीका सबै प्रकारका सेयरलाई एउटै आईजीन नम्बर दिइन्छ । अर्थात् प्रमोटर र पब्लिक सेयरबीच कुनै अलग पहिचान हुँदैन । यसले गर्दा बजारमा सबै सेयर एउटै श्रेणीमा कारोबार हुन्छन् र एउटै बजार मूल्य कायम हुन्छ । सिंगल आईजीन प्रणालीको मुख्य फाइदा भनेको बजारको पारदर्शिता र तरलता बढ्नु हो । सबै सेयर एउटै बजारमा कारोबार हुने भएकाले मूल्य निर्धारण अधिक यथार्थपरक हुन्छ । लगानीकर्तालाई पनि बजार बुझ्न सजिलो हुन्छ । अन्तर्राष्ट्रिय अभ्यासमा पनि धेरै देशहरूले यस्तै प्रणाली अपनाएका छन्, जसले बजारलाई सरल र प्रभावकारी बनाएको छ । तर, सिंगल आईजीन लागू गर्दा केही चुनौतीहरू पनि देखिन्छन् । यदि प्रमोटर सेयर र पब्लिक सेयर पूर्ण रूपमा एकीकृत गरियो भने संस्थापक समूहले कम्पनीमाथिको नियन्त्रण गुमाउने सम्भावना हुन सक्छ । यसले दीर्घकालीन रणनीति र व्यवस्थापनमा असर पार्न सक्छ । त्यसैले सिंगल आईजीन लागू गर्दा प्रमोटर सेयरका लागि निश्चित समयसम्म लक–इन अवधि वा अन्य सुरक्षात्मक व्यवस्था आवश्यक हुन सक्छ ।
यस सन्दर्भमा नीतिगत निर्णय लिनु नेपाल धितोपत्र बोर्ड जस्ता नियामक निकायका लागि महत्वपूर्ण चुनौती हो । बजारको दीर्घकालीन स्थिरता, लगानीकर्ताको विश्वास र अन्तर्राष्ट्रिय अभ्यासलाई ध्यानमा राखेर मात्र यस्तो निर्णय लिनु आवश्यक हुन्छ । नेपालको पुँजी बजार अहिले विकासको संक्रमणकालीन चरणमा छ । प्रविधिको विस्तार, डिम्याट प्रणालीको प्रयोग र अनलाइन कारोबारको वृद्धिजस्ता सुधारहरूले बजारलाई नयाँ चरणमा पुर्याएका छन् । यस्तो अवस्थामा बजारलाई थप पारदर्शी र प्रतिस्पर्धी बनाउन सिंगल आईजीन प्रणाली दीर्घकालीन रूपमा उपयोगी हुन सक्ने धेरै विज्ञहरूको धारणा छ । तर यसको कार्यान्वयन क्रमिक र सावधानीपूर्वक हुनुपर्छ ।
सिंगल आईजीन र डबल आईजीन दुवै प्रणालीका आफ्नै फाइदा र सीमाहरू छन् । डबल आईजीन प्रणालीले कम्पनीको स्वामित्व संरचना सुरक्षित राख्छ भने सिंगल आईजीन प्रणालीले बजारलाई बढी पारदर्शी र तरल बनाउँछ । नेपालको पुँजी बजार परिपक्व हुँदै जाँदा यी दुईमध्ये कुन प्रणाली दीर्घकालीन रूपमा उपयुक्त हुन्छ भन्ने विषयमा गहिरो अध्ययन, नीति संवाद र चरणबद्ध सुधार आवश्यक देखिन्छ । त्यसैले अहिलेको बहस केवल प्राविधिक विषय मात्र नभई नेपालको पुँजी बजारको भविष्यसँग जोडिएको महत्वपूर्ण नीतिगत प्रश्न पनि हो ।