काठमाडौं । राष्ट्रिय व्यावसायिक पहल (एनबीआई)ले निर्वाचनपश्चात् प्राप्त परिणामले स्थिर सरकार र सुशासनको अपेक्षा राखिएको जनाएको छ ।
एनबीआईले आइतबार विज्ञप्ति जारी गरी गत भदौमा भएको जेन–जी आन्दोलनपछि उत्पन्न असाधारण राजनीतिक परिस्थितिमा गठन गरिएको अन्तरिम सरकारको नेतृत्वमा सम्पन्न आम निर्वाचनबाट प्राप्त जनादेशले स्थिर सरकारको अपेक्षा गरिएको उल्लेख गरेको छ ।
संस्थाले जारी गरेको वक्तव्यमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा रहेको अन्तरिम सरकारले राजनीतिक अस्थिरता, असहमति र सुरक्षा चुनौतीका बाबजुद आफ्नो मुख्य जिम्मेवारी पूरा गर्दै मुलुकभरका एक सय ६५ वटै निर्वाचन क्षेत्रमा स्वतन्त्र, निष्पक्ष र विश्वसनीय निर्वाचन सम्पन्न गराएको उल्लेख गरेको छ । एनबीआईले निर्वाचन सफलतापूर्वक सम्पन्न गराउन योगदान पु¥याएको भन्दै प्रधानमन्त्रीसहित सम्पूर्ण मन्त्रिपरिषद्प्रति आभार व्यक्त गरेको छ । वक्तव्यमा निर्वाचन आयोगको कुशल नेतृत्व, निजामती कर्मचारीको समर्पण तथा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग र नेपाली सेनाबीचको समन्वयलाई महत्वपूर्ण उपलब्धिका रूपमा उल्लेख गरिएको छ ।
निर्वाचनमा एनबीआईले स्वतन्त्र पर्यवेक्षकका रूपमा भूमिका निर्वाह गरेको जनाएको छ । संस्थाले मुलुकभरका विभिन्न निर्वाचन क्षेत्रमा एक सय १० भन्दा बढी पर्यवेक्षक परिचालन गरी मतदान प्रक्रिया, मतगणना र समग्र निर्वाचन व्यवस्थापनको अनुगमन गरेको थियो ।
पर्यवेक्षकहरूको अवलोकनका आधारमा छिटपुट घटनाबाहेक समग्र निर्वाचन शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न भएको पुष्टि भएको संस्थाले जनाएको छ । दिगो शान्ति स्थापना, आर्थिक स्थायित्व र समृद्धिका लागि क्रियाशील एनविआईले नवनिर्वाचित सरकारबाट भ्रष्टाचार न्यूनीकरण, पारदर्शिता र सुशासनमार्फत मुलुकलाई स्थायित्व र समृद्धितर्फ अग्रसर गराउने अपेक्षा व्यक्त गरेको छ ।
‘सफल समाजबिना व्यवसाय सफल बन्न सक्दैन, सफल व्यवसायबिना समाज सफल बन्न सक्दैन’, भन्ने नारासहित क्रियाशील एनबीआईले नवनिर्वाचित सरकारसँग भ्रष्टाचार नियन्त्रण, कानुनको शासन, पारदर्शिता, सुशासन तथा आर्थिक विकासका मुद्दामा रचनात्मक संवाद र सक्रिय सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता जनाएको छ ।